काठमाडौं । कैलालीस्थित इलाका प्रहरी कार्यालय मालाखेतिमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दानसिंह भण्डारी यतिबेला विवादमा छन् ।
प्रहरी प्रधान कार्यालयमा वेनामे उजुरी परेसँगै इन्स्पेक्टर भण्डारी विवादमा तानिएका हुन् । उनीमाथि हिरासतमा कुटपिट, मुद्दामा आर्थिक असुली र भरुवा बन्दुक बरामदमा गडबडी गरेकोजस्ता आरोप वेनामे उजुरीमा लगाइएको थियो ।
उक्त उजुरीको छानबिन गर्न इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख डीएसपी रणबहादुर चन्दसहित पाँच सदस्यीय समिति गठन गरिएको थियो ।
समितिले उजुरीमा उल्लेख गरिएका व्यक्तिहरूसँग पनि बयान लिएर प्रतिवेदन प्रदेश प्रहरी कार्यालय धनगढीमा बुझाएको छ । स्रोतका अनुसार इन्स्पेक्टर भण्डारीमाथि लगाइएका आरोप पुष्टि भएनन् । तर समितिमाथि नै निष्पक्षताको सवाल उठेको छ ।
आफ्नै कार्यालयमा कार्यरत इन्स्पेक्टरको विषयमा प्रमुखकै नेतृत्वमा भएको छानबिन ढाकछोपको प्रयत्न भएको आरोप लागेको छ । उजुरीमा स्याउलेबाट एक घरमा भरुवा बन्दुक र जनावरको सिङ बरामद भएको दाबी गरिएको थियो । तर सिङ गायब गरेर बन्दुक मात्रै देखाइएको छ ।
[insert page='369402' display='yopanipadhnuhos.php']
आर्थिक चलखेल गरेर जनावरको सिङ गायब गरिएको आरोप छ । तर डीएसपी चन्दले उक्त आरोपलाई ‘झुटो’ भन्दै खारेज गरेका छन् । इन्स्पेक्टर भण्डारीमाथि लगाइएका आरोप छानबिन समितिले ‘क्लिन चिट’ दिएको आशंका गरिएको छ ।
भण्डारीलाई केही महिना अघि दंगा नियन्त्रण प्रहरी गण, कञ्चनपुरमा काज सरुवा गरिएको भए पनि अहिलेसम्म रमाना नआएको विषयले पनि प्रश्न खडा गरेको छ । यसबारे आधिकारिक पत्र नआएको डीएसपी चन्दले बताए ।
आफूले प्रदेश प्रहरी कार्यालयसँग जानकारी मागेको उनी बताउँछन् । इन्स्पेक्टर भण्डारी इलाका प्रहरी कार्यालय मालाखेतिको मुद्धा शाखामा कार्यरत छन् ।