Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इप्रकामा वन्यजन्तुका अंग गायब प्रकरण : दोषीलाई कारबाही गर्न किन भयो ढिलाइ ?

इप्रकामा वन्यजन्तुका अंग गायब प्रकरण : दोषीलाई कारबाही गर्न किन भयो ढिलाइ ?

बिहिवार , फाल्गुण २८, २०८२

काठमाडौं । कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीले बरामद गरेको भरुवा बन्दुक तथा वन्यजन्तुका अंगसम्बन्धी घटनामा संलग्न प्रहरी कर्मचारीमाथि कारबाही प्रक्रिया ढिलाइ भएपछि प्रश्न उठ्न थालेको छ ।

घटनामा संलग्न कर्मचारीमाथि कारबाही सिफारिससहितको छानबिन प्रतिवेदन गत पुस महिनामै बुझाइए पनि तीन महिना पुग्न लाग्दा समेत कारबाही प्रक्रिया अघि बढेको छैन । यसले प्रहरी संगठनभित्रै दोषीलाई जोगाउने प्रयास भइरहेको हो कि भन्ने आशंका बढाएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले तत्कालिन डीएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको थियो । समितिले पुसको पहिलो साता प्रतिवेदन तयार गरी प्रदेश प्रहरी कार्यालयमा बुझाएको थियो ।

उक्त प्रतिवेदन रायका लागि प्रहरी प्रधान कार्यालय पठाइएको र केही समयपछि रायसहित प्रदेश प्रहरी कार्यालयमा फर्काइएको थियो ।

प्रदेश प्रहरीले त्यसपछि प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कैलालीलाई पठाएको थियो । स्रोतका अनुसार कैलाली प्रहरीले सो प्रकरणमा जोडिएका प्रहरी कर्मचारीसँग स्पष्टिकरणसमेत मागिसकेको छ ।

कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले निर्वाचनका कारण कारबाही प्रक्रिया ढिलाइ भएको स्वीकार गर्दै केही दिनमै दोषीमाथि कारबाही गरिने बताएका छन् ।

स्रोतका अनुसार छानबिन प्रतिवेदनमा तत्कालीन इप्रका मालाखेतीका इन्स्पेक्टर दानसिंह भण्डारीसहित केही प्रहरी कर्मचारीको संलग्नता पुष्टि भएको उल्लेख छ । तर लामो समयसम्म पनि विभागीय वा कानुनी कारबाही नहुँदा संगठनभित्रै संरक्षण भएको आशंका बढेको छ ।

यो घटना गत साउन ४ गते कैलालीको स्याउलेस्थित दुई घरमा प्रहरीले छापा मारेपछि सुरु भएको थियो । छापामारीका क्रममा प्रहरीले भरुवा बन्दुकसँगै चित्तलका खुट्टा र सिङ्ग बरामद गरेको जनाएको थियो।

तर त्यसपछि ती वन्यजन्तुका अंगहरू पैसा असुलेर गायब पारिएको आरोप इन्स्पेक्टर भण्डारीसहित सम्बन्धित प्रहरीमाथि लागेको छ । आरोपअनुसार चित्तलका खुट्टा र सिङ्ग गायब पारेर भरुवा बन्दुक मात्रै बरामद भएको देखाइँदा मुद्दा कमजोर बनाइएको र दोषीलाई उन्मुक्ति दिने वातावरण तयार गरिएको थियो ।

सो समयमा इन्स्पेक्टर भण्डारी इप्रका मालाखेतीको मुद्दा शाखामा कार्यरत थिए। घटनाबारे प्रहरी प्रधान कार्यालयमा वेनामे उजुरी परेपछि प्रारम्भिक रूपमा इप्रका मालाखेतीका डीएसपी रणबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

तर उक्त समितिले घटनालाई ढाकछोप गर्दै प्रतिवेदन बुझाएको आरोप लागेपछि प्रदेश प्रहरीले पुनः विशेष छानबिन समिति गठन गरेको थियो।

डीएसपी श्रीवास्तव नेतृत्वको समितिले विस्तृत अनुसन्धानपछि घटनामा चलखेल भएको निष्कर्ष निकालेको स्रोत बताउँछ । यो घटनामा डीएसपी चन्द पनि अनुसन्धानमा तानिने सम्भावना छ ।

तर प्रतिवेदन तयार भएको लामो समय बितिसक्दा पनि कारबाही प्रक्रिया अघि नबढ्दा प्रहरी संगठनभित्र प्रभाव, दबाब र संरक्षणको आशंका बढेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077