काठमाडौं । नेपाली कांग्रेसका ६५ सांसदसहित एक स्वतन्त्रसहित कुल ६८ सांसदले दायर गरेको निवेदनमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।
संसद् पुनःस्थापनासम्बन्धी कांग्रेसका सात सांसदले यसअघि दायर गरेको रिटमा आफूलाई सरोकारवाला पक्ष का रूपमा समावेश गरियोस् भन्ने मागसहित उनीहरूले निवेदन दिएका हुन्।
आजको इजलासले उक्त निवेदन स्वीकार गरेमा यी ६८ सांसदको हस्ताक्षर कांग्रेसका सांसदहरूले दायर गरेको रिटको औपचारिक अंग बन्नेछ ।
यससँगै सर्वोच्च अदालतमा संसद् पुनःस्थापनाको माग गर्ने सांसदहरूको संख्या १४३ पुग्नेछ, जुन सरकार गठनका लागि आवश्यक बहुमतभन्दा बढी हो।
यसअघि नेकपा एमालेका तर्फबाट दायर रिटमा ७५ सांसदको हस्ताक्षर समावेश भइसकेको छ । कांग्रेस पक्षको निवेदन पनि समावेश भएपछि संसद् पुनःस्थापना हुनुपर्ने माग गर्ने सांसदहरूको संख्या उल्लेख्य रूपमा बलियो बन्ने देखिएको छ।
२५५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ।
गत मंसिर २२ गते विघटित प्रतिनिधिसभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा सात सांसदले रिट दायर गरेका थिए ।