अछाम । जिल्लामा सम्भावित विपद् न्यूनीकरण तथा पूर्व–सतर्कताका विषयमा बुधबार आयोजित जिल्ला विपद् व्यवस्थापन समितिको बैठक स्वयं विवादको केन्द्र बनेको छ।
बैठकका क्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुँवर र मंगलसैन नगरपालिकाका मेयर पदमबहादुर बोहराबीच सेफ हाउस सञ्चालन र व्यवस्थापनको विषयमा चर्को भनाभन भएपछि स्थिति तनावग्रस्त बनेको हो।
छलफल आक्रोशमा परिणत हुँदा दुबै पक्ष एक–अर्कामाथि झम्टिन खोज्दा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको सहभागीहरूले बताएका छन्।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रमुख जिल्ला अधिकारीको पहलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीहरू तथा अन्य सहभागीहरूले बीचमै हस्तक्षेप गरी उनीहरूलाई छुट्याएका थिए।
घटनाका क्रममा दुबै पक्षबाट एक–अर्कामाथि अपमानजनक शब्द प्रयोग भएको समेत जनाइएको छ।
उक्त बैठकमा अछामका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख डिएसपी, सशस्त्र प्रहरीका डिएसपी, नेपाली सेनाका अधिकृत, जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरू, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरू र सम्बन्धित सरकारी निकायका अधिकारीहरूको उपस्थिति थियो।