काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका छन् ।
प्रचण्डले माओत्सेतुङको १३३औँ जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै माओले देखाएको बाटो केवल इतिहास नभई राष्ट्रिय स्वाधीनताको रक्षा र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि भएको बताएका छन् ।
हामीले सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा गरिसकेको बताउदै प्रचण्डले भने- 'यसले हाम्रो वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ । यस परिस्थितिमा मार्क्सदेखि लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका सबै योगदानलाई संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै अगाडी बढ्नु कम्युनिष्ट क्रान्तिकारीहरूको मुख्य जिम्मेवारी बनेको छ ।'
प्रचण्डले अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिहरू विरुद्ध निर्मम वैचारिक र राजनीतिक सङ्घर्षबिना समाजवादी क्रान्ति सफल नहुनेमा जोड दिएका छन् ।