अछाम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अछाम निर्वाचन क्षेत्र नं. १ बाट पूर्व उपप्रधानमन्त्री डा. भीम रावलसहित पाँच जनालाई सिफारिस गरेको छ ।
शुक्रबार सदरमुकाम मंगलसैनमा बसेको पार्टी बैठकले प्रतिनिधिसभा प्रत्यक्षतर्फ डा. रावलसहित पाँच जनाको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेमा डा. भीम रावल, कुलबहादुर कुँवर, लोकबहादुर वोहरा ‘ज्वाला’, महिलातर्फ निर्मला साउद र युवातर्फ चन्द्र बहादुर भण्डारी रहेका छन् ।
नेकपा एमालेबाट कारबाहीमा परेपछि ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरेका डा. रावलले पछि तत्कालीन माओवादी र एकीकृत समाजवादी पार्टीबीच एकीकरण भएपछि सो अभियानलाई नेपाली कम्युनिस्ट पार्टीमा समाहित गरेका हुन् ।
डा. रावल अछाम निर्वाचन क्षेत्र नं. १ बाट २०५१, २०७० र २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका अनुभवी नेता हुन् । यसअघिको चुनावमा नेकपा एमालले डा. रावललाई टिकट दिएको थिएन ।
एमालेबाट झपटबहादुर बोहरा उम्मेदवार बनेका थिए । तर उनी तत्कालिन नेकपा (एकीकृत समाजवादी) का नेता शेरबहादुर कुँवरसँग पराजित भएका थिए ।