Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति भीम रावलको आपत्ति, भने - नैतिक रूपमा पदमा बस्ने अधिकार छैन

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति भीम रावलको आपत्ति, भने - नैतिक रूपमा पदमा बस्ने अधिकार छैन

आइतवार , जेठ १७, २०८३

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिप्रति भीम रावलको कडा आपत्ति, ‘नैतिक रूपमा पदमा बस्ने अधिकार छैन’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसलाई आपत्तिजनक र गलत भएको टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै रावलले संसद्मा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर गम्भीर प्रश्न उठाएका हुन् । उनले प्रधानमन्त्री पदको गरिमा र जिम्मेवारीमाथि नै प्रश्न उठ्ने खालको अभिव्यक्ति आएको दाबी गरेका छन् ।

रावलले प्रधानमन्त्रीले “नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै यस्तो भनाइले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र सुरक्षामाथि नै असर पार्ने टिप्पणी गरेका छन्।

उनले भने, 'देशको सार्वभौमसत्ता, अखण्डता र सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले यस्तो आपत्तिजनक कुरा भन्नु गम्भीर विषय हो। झुटा कुरा संसदमा गर्ने व्यक्तिले प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन।'

रावलका अनुसार नेपालको भौगोलिक अखण्डताको रक्षा गर्नुको सट्टा विपरीत आशय दिने अभिव्यक्ति आउनु “राष्ट्रका लागि दुर्भाग्यपूर्ण” हो।

उनले प्रधानमन्त्रीले दाबी गरेको सीमा अतिक्रमणबारे स्पष्ट तथ्य सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन्। “भारतको जग्गा नेपालले कहाँ, कति र कहिलेदेखि मिचेको हो तत्काल नेपाली जनतालाई जानकारी दिनुपर्छ,” रावलले भनेका छन्।

त्यसैगरी उनले देशभक्त नेपाली जनताले प्रधानमन्त्रीसँग तत्काल जवाफ माग्नुपर्ने बताउँदै राजनीतिक दलहरूको धारणा पनि स्पष्ट हुनुपर्ने उल्लेख गरेका छन्।

रावलले विशेष रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसका सांसद तथा सदस्यहरूको पनि यस विषयमा स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने टिप्पणी गर्दै सरकारको नेतृत्व गरिरहेको दलको जवाफ जनताले पर्खिरहेको बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077