काठमाडौं । प्रधानमन्त्री बालेन शाह चितवनमा विवादास्पद व्यापारीको होटलमा बसेको खुलेको छ। उनी बसेको लटौरी स्याङचुरी रिसोर्टका मालिक प्रहरीको अनुसन्धानमै रहेका व्यक्ति हुन् ।
सो रिसोर्टका मालिक ज्ञानेन्द्र खड्का हुन्। उनीमाथि विगत तीन वर्षदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले क्रिप्टो कारोबारको आरोपमा अनुसन्धान गरिरहेको छ ।
क्रिप्टो कारोबारकै विषयमा खड्का अनेक लफडामा पनि परिसकेका छन् । प्रहरीकै छानबिनमा रहेका व्यक्तिको रिसोर्टमा प्रधानमन्त्री बसेपछि चितवनमा धेरैले आश्चर्य मानेका थिए ।
खड्कालाई तीन वर्षअघि सिआइबीले पक्राउकै तयारी गरेको थियो। तर, प्रचण्डपुत्री गंगाको दबाबमा त्यतीबेला अनुसन्धान रोकिएको स्रोत बताउँछ ।
‘उत्तम सुवेदी सर प्रमुख भएको बेला विस्तृत अनुसन्धान भएको थियो, पक्राउको तयारी हुँदै थियो तर एक्कासी रोकिएको थियो ,’ सिआइबीका एक अधिकारी भन्छन्,‘अहिले पनि त्यसमा अनुसन्धान जारी छ।’
त्यसो त क्रिप्टो कारोबारकै विषयमा खड्का र गणेश लामाको समूहबीच समेत २०८० को माघमा लफडा भएको थियो। आफ्नो बिटक्वाइनका लागि लामाको समूहले अपहरण गरेको दाबी खड्काले गरेका थिए।
त्यतीबेला उनले निकालेको बिज्ञप्तिबाट पनि उनी क्रिप्टोकारोबारी भएको देखिन्छ । उनले भनेका थिए, ‘मेरो फोन र ल्यापटप खोसेर तँसँग भएको क्रिप्टो तुरुन्त ट्रान्सफर गर् भने । मसँग बिटक्वाइन छ र त्यो बिटक्वाइन लिंदा म प्रहरीमा पनि जान नसक्ने भन्ने सोचेर उनीहरूले मलाई टार्गेट गरेका थिए।’
ग्यापु नामक कम्पनी चलाएका खड्का सो कम्पनीबाट पनि यस्तै गतिविधि गरेका थिए। यस विषयमा पनि सिआइबीले अनुसन्धान गरिरहेको छ।
यसरी अवैध गतिविधिबाट कमाएको सम्पत्ति उनले रिसोर्टमा लगानी गरेका हुन्। यस विषयमा सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान हुने अवस्था छ ।
सुशासनको नारा लगाउदै आएका प्रधानमन्त्री बालेन यस्तै विवादास्पद व्यक्तिको रिसोर्टमा बसेपछि चितवनका रास्वपाका नेता–कार्यकर्ताले नै प्रश्न उठाएका थिए ।
यसैबीच रिसोर्टका मालिक खड्काले आफ्नो सूचना चुहाएको आरोपमा जनरल म्यानेजर रोशन पुरीसहितका चार जना कर्मचारीलाई हटाएका छन् ।
धेरै समय विदेशमा रहने खड्काले रिसोर्टमा आएका पाहुना र रिसोर्टका सूचना चुहाएको आरोप कर्मचारीहरुलाई लगाएपछि विवाद भएको थियो ।