धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले आर्थिक वर्ष २०८२/८३ मा अपराध नियन्त्रण, अनुसन्धान, शान्ति–सुरक्षा र सेवा प्रवाहका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै वर्षभरका मुख्य उपलब्धि प्रस्तुत गरेका हुन् ।
प्रहरीका अनुसार आर्थिक वर्षभर विभिन्न प्रकृतिका १ हजार ९२९ आपराधिक घटना दर्ता भएका छन् । तीमध्ये १७ कर्तव्य ज्यान, ३०२ आर्थिक अपराध, १५७ सामाजिक अपराध तथा २३३ महिला तथा बालबालिकासम्बन्धी अपराधका घटना रहेका छन्।
यस अवधिमा प्रहरीले १ हजार ९५० प्रतिवादीलाई पक्राउ गरेको छ। साथै, विभिन्न मुद्दामा फरार रहेका ८२६ अभियुक्तलाई नियन्त्रणमा लिई २२२ वर्ष ३ महिना ४ दिन कैद सजाय कार्यान्वयन गराउनुका साथै २ करोड २१ लाख २ हजार ४२ रुपैयाँ जरिवाना असुल गरेको जनाएको छ।
लागूऔषधविरुद्धको अभियानमा प्रहरीले ४११ मुद्दा दर्ता गर्दै ५९३ जनालाई पक्राउ गरेको छ। यस क्रममा ३० किलो ४५९ ग्रामभन्दा बढी चरेस, ९४६ ग्राम ९७७ मिलिग्राम खैरो हेरोइन, १ किलो ५३५ ग्राम गाँजा तथा १ हजार ६४२ ट्याब्लेट लागूऔषध बरामद गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
वार्षिक विवरणअनुसार कैलालीमा एक वर्षको अवधिमा २९८ आत्महत्याका घटना भएका छन्। यस्तै ६०१ सवारी दुर्घटना हुँदा ८२ जनाको मृत्यु भएको छ भने ९७४ जना घाइते भएका छन्।
ट्राफिक नियम उल्लंघनविरुद्धको कारबाहीबाट प्रहरीले १ करोड ४७ लाख ७५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ७ करोड ३२ लाख ९३ हजार ३५६ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। साथै १४ हजार ५४५ लिटर अवैध मदिरा र ७ हजार ६३५ लिटर मदिरा उत्पादनका कच्चा पदार्थ नष्ट गरिएको जनाएको छ।
समुदायसँगको सहकार्यलाई प्राथमिकता दिँदै प्रहरीले वर्षभर २ हजार ३४६ समुदाय केन्द्रित तथा ३०५ विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममार्फत ७८ हजार ४३५ जना लाभान्वित भएको प्रहरीले जनाएको छ।
यसैगरी, आर्थिक वर्षभर ५० हजार ५१२ सेवाग्राहीलाई प्रत्यक्ष सेवा प्रदान गरिएको विवरणमा उल्लेख छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले अपराध अनुसन्धान र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन भर्चुअल माध्यमबाट म्याद थप अनुमति, ‘लेस पेपर’ अवधारणा, डिजिटल अभिलेखीकरण, प्रविधिमार्फत अनुसन्धान तथा नागरिक सहजीकरणका नवप्रवर्तनात्मक अभ्यास कार्यान्वयनमा ल्याएको जनाएको छ।