Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पटक–पटक बद्नाम हुँदै वाल्डो क्यासिनो, अध्यक्ष चिङ पनि पक्राउ

पटक–पटक बद्नाम हुँदै वाल्डो क्यासिनो, अध्यक्ष चिङ पनि पक्राउ

आइतवार , पौष १३, २०८२

काठमाडौं । ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष पक्राउ परेका छन् ।।

वाल्डो क्यासिनोका सञ्चालक अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

भारतीय नागरिकलाई क्यासिनो वाल्डो पुर्याएर ठगी गरेको आरोपमा पक्राउ परेका गिरोहको वयानको आधारमा क्यास्निोका सञ्चालक अध्यक्षलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ठगी गर्ने भारतीय गिरोहसँग क्यासिनोका सञ्चालकको पनि संलग्नता देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

चाङलाई ठमेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको थियो ।

उनीहरुले आँखामा लगाउने लेन्स र म्याग्नेटिभ भएको तास खेलाएर भारतीय नागरिकको रकम ठगी गरेको प्रहरीको भनाई छ ।

म्याग्नेटिक जडान भएको तास र आँखामा त्यसलाई कनेक्ट गर्ने लेन्स राखेर क्यासिनो खेल्दै करोडौं ठग्न खोज्ने भारतीय समूहलाई प्रहरीले पुस ९ गते नै पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले ठमेलको छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा छापा मारेर ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारतीय नागरिक सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे छन् ।

यो प्रकरणमा संलग्न रहेको आरोपमा क्यासिनो सञ्चालक, विनोद भनिने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भनिने निरज कुमार, हिरा शेखर मल्ली पुरी, कमल खरबन्दा ९मुकेश० नाम गरेका व्यक्ति भने फरार छन् ।

यसका मुख्य व्यक्ति भारतीय नागरिक सुरेश महाजन छन् । उनलाई नेपालबाट सहयोग गर्ने जनार्दन उप्रेती हुन् । जो अहिले पनि फरार छन् ।

महाजनले नेपालमा क्यासिनो इभेन्ट गर्ने भन्दै क्यासिनो बुक गर्ने र खेल्ने व्यक्तिका लागि भन्दै पाँचतारे होटलमा ११० वटा कोठासमेत बुक गरेर ठग्ने योजना बनाएको खुलेको छ ।

यसका लागि महाजनले छाया सेन्टरकै होटल अलफ्टमा ४०, नक्सालको मेरियटमा ५० र अर्को पाँचतारे र्‍याडिसन होटलमा २० वटा कोठा बुक गरेका थिए ।

महाजनले इभेन्ट गर्ने भन्दै ११ डिसेम्बरदेखि १४ डिसेम्बर गरी ४ दिनका लागि वाल्डो क्यासिनो बुक गरेका थिए । महाजनको ग्रुपलाई ‘महाकाय’ भनिन्छ । यही ग्रुपको नाममा क्यासिनो बुक गरिएको थियो ।

उनले यसअघि नेपाल, भारत, श्रीलंका, भियतनाम, कम्बोडियामा समेत यस्तै इभेन्ट आयोजना गरेका थिए । क्यासिनो र बुक गरेर आफैंले इभेन्ट आयोजना गर्ने भन्दै उनले जुवा खेलाउने गरेका थिए । यसरी खेलिने तासको व्यवस्थापन पनि महाजन आफैंले गर्थे ।

त्यसका लागि उनले तासमा म्याग्नेट तथा चिपहरू जडान गर्ने गरेका थिए । अनि ती चिपसँग कनेक्ट गर्न अर्को आई लेन्सको पनि व्यवस्था गरेका थिए । आँखामा आई लेन्स लगाएपछि पछाडितर्फबाटै कसलाई के तास पर्‍यो भन्ने जानकारी हुने र त्यहाँ आफूले नै खडा गरेका डमी खेलाडीले पछाडिबाटै तास चिनेपछि सोहीअनुसार खेल खेल्ने गरेको परिसरका एक अधिकारी बताउँछन् ।

यसरी भारतदेखि ल्याइएका डमी खेलाडीहरूलाई दैनिक भारु १० हजार रुपैयाँ दिने र जितेको रकमको १० प्रतिशत समेत भाग लगाउने सहमति भएको पाइएको प्रहरीले बताएको छ ।

यसको सूचना आएपछि परिसरले छापा मारेर इभेन्ट आयोजना गर्ने भनिएको पहिलो दिनमै पक्राउ गरेपछि रकम हारजित हुन पाएन । तर यसभन्दा अघि महाजनले नै क्यासिनो बुक गरेर नेपालमा खेलाउने गरेको पाइएको छ ।

त्यसअघि ६० किलो सुन तस्करी प्रकरणमा २०८१ सालमा क्यासिनो वाल्डोका सञ्चालक फ्लोरेन्स पक्राउ परेका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको थियो । फ्लोरेन्सको सुन तस्करीमा संलग्न चिनियाँ तस्कर समूहसँग सम्बन्ध रहेको खुलेको थियो । मुख्य आरोपी याओ पुचिङ नियमित रुपमा यो क्यासिनो जाने र हुण्डी कारोबार गर्ने गरेको भेटिएको थियो ।

कहिले सुन तस्करी तर कहिले अवैध जुवा तासको आरोपमा क्यासिनोका सञ्चालक र अध्यक्ष पक्राउ पर्दा क्यासिनो वाल्डो नै विवादमा तानिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077