काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका मुख्य सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
वाल्डो क्यासिनोका सञ्चालक ७५ वर्षीय चिनियाँ नागरिक च्यान मिन चिङलाई शुक्रबार राति पक्राउ गरिएको हो ।
इभेन्टका नाममा क्यासिनोमा नेपालीलाई प्रवेश गराएर प्रविधिको प्रयोग गरी ठूरो हारजित गराउने गरेको खुलेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले यसअघि उक्त क्यासिनोबाट आँखामा लेन्स लगाएर क्यासिनो खेलाउने चार भारतीय नागरिक र दुई नेपाली महिलालाई पक्राउ गरेको थियो । जुवाकै लागि यो समूहले २०० जना खेलाडीलाई भारत, श्रीलंका, भियतनाम, कम्बोडियाबाट नेपाल ल्याएका थिए ।
उक्त आरोपमा सुरेश माहाजन, दिनेश बर्मा, विक्रम सिंह , प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे पक्राउ परेका थिए ।
उक्त क्यासिनोमा डिसेम्बर ११ देखि १४ तारेखसम्म भारत र नेपालका विभिन्न समूह मिलेर इभेन्ट आयोजना गरिएको थियो । समूहका मुख्य व्यक्ति सुरेश महाजनले ठगी गर्नैका लागि ५० प्याकेट म्याग्नेट जडित तास र ४ सय लेन्स भारतबाट खरिद गरेर ल्याएको पाइएको थियो ।
आँखामा विशेष प्रकारको लेन्स लगाएपछि तासको दुवैतर्फ देखिने र अन्य खेलाडीलाई ठगी गरेर जितेको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र बाँकी १० प्रतिशत खेलाडीले पाउने गरी सञ्चालक सुरेश माहाजन र दिनेश बर्माबीच सहमति भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
यस्तै फरार रहेका क्यासिनोका नेपाली सञ्चालक विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेशको खोजि जारी रहेको बताउदै आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।