काठमाडौं । ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाइरहेको आरोपमा प्रहरीले छापा मार्दा ६ जना पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये दुई जना महिला समेत छन्। करिब एक साता अघि गरिएको गोप्य अपरेसनमा भारतीय क्यासिनो इभेन्ट गिरोहका मुख्य नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश बर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डे पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै अवैध क्यासिनो खेलाउने कार्यमा संलग्न ६ जनालाई प्रक्राउ गरी परिसरको हिरासतमा राखिएको जानकारी दिएको हो ।
नेपाली नागरिकलाई समेत अवैध क्यासिनोको आवरणमा ठगी कार्यमा संलग्न थप क्यासिनो सञ्चालक ७ जनाको पहिचान भइसकेको जानकारी दिँदै खोजि कार्य भइरहेको समेत प्रहरीले बताएको छ ।
फरार रहनेमा विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर भन्ने मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार रहेका छन् ।
क्यासिनोमा छापाका क्रममा जुवा खेल्न प्रयोग हुने तास, सेन्सर जडित उपकरण, लेन्सलगायत सामग्री बरामद प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका मुख्य नाइके सुरेश महाजन भारतीय नागरिक हुन्। उनी दिल्लीको रोहिणी सेक्टर-१७ मा बसोबास गर्दै आएको खुलेको छ।
सुरेश महाजन ‘क्यासिनो इभेन्ट ग्रुप’ तथा ‘बीपी एण्ड महाकाय ग्रुप’ का सञ्चालक हुन्। अनुसन्धानका क्रममा महाजनले विगत १८-२० वर्षदेखि दिल्लीको रोहिणी क्षेत्रमा ‘महाकाया हाईस्टेक प्रा।लि।’ नामक घरजग्गा कारोबार कम्पनी सञ्चालन गर्दै आएको र त्यससँगै क्यासिनो बीपी एण्ड महाकाय ग्रुपमार्फत अन्तर्राष्ट्रिय क्यासिनो इभेन्ट सञ्चालन गर्दै आएको खुलेको छ।
प्रहरीका अनुसार क्यासिनोमा ‘इभेन्ट’ तथा ‘बीपी एण्ड महाकाय ग्रुपको नाममा पूर्व–सम्झौता (सेटिङ) मिलाएर जुवा खेलाउने गरिएको थियो।
उक्त ग्रुपले नेपाल, भारत, श्रीलंका, भियतनाम र कम्बोडियालगायत देशहरूमा नियमित रूपमा क्यासिनो इभेन्ट सञ्चालन गर्दै आएको प्रहरीको भनाइ छ।
सोही योजनाअनुसार सुरेश महाजन मंसिर २४ गते भारतबाट नेपाल आएका थिए।बीपी एण्ड महाकाय ग्रुपअन्तर्गत क्यासिनो प्लेयरहरू मंसिर २५ गते मात्र करिब ७० जना नेपाल आएका थिए। अन्य ग्रुप समेत सहभागी हुँदा जम्मा करिब २०० जना भारतीय नागरिक नेपाल आएको खुलेको छ।
उनीहरूका लागि होटल अलफ्ट र होटल मेरियटमा करिब ८० कोठा बुक गरिएको थियो। टिकट, खाना र बसोबासको सम्पूर्ण व्यवस्थापन सुरेश महाजनले मिलाएको प्रहरीको भनाइ छ। सुरेश महाजनसहित मोनो सचदौवा भनिने निरज कुमार, गौरव खत्री, दिनेश बर्मा, विक्रम सिंह र प्रमोद मोरिया मंसिर २४ गते काठमाडौं आइपुगेका थिए।वाल्डो क्यासिनोमा ७ देखि १० वटा टेबलमा ‘इन्डियन फलास’ नामक खेल सञ्चालन गर्ने सम्झौता भएको खुलेको छ। उक्त एग्रीमेन्ट विनोद भन्ने जनार्दन उप्रेतीले गरेको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले अवैध जुवा सञ्चालन, विदेशी नागरिकको संलग्नता, क्यासिनो नियम उल्लङ्घन तथा आर्थिक कारोबारसम्बन्धी विषयमा ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।