काठमाडौँ । काठमाडौँको ठमेलस्थित वाल्डो क्यासिनोमा भारतबाट आएको गिरोहले चुम्बकजडित तास र आँखामा लगाउने विशेष लेन्स प्रयोग गरी जुवा खेल्दै ठगी गरेको खुलासा भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले ठगीमा संलग्न गिरोह र उनीहरूको संगठित धन्दा पत्ता लगाएको हो । यस प्रकरणमा संलग्न ६ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरिएको परिसरले जनाएको छ । पक्राउ पर्नेमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवाडी पाण्डे रहेका छन्।
प्रहरीका अनुसार क्यासिनो सञ्चालकसहित अन्य केही व्यक्तिको संलग्नता देखिए पनि उनीहरू फरार छन्। फरार हुनेमा विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरज कुमार, हिरा शेखर भन्ने मल्ली पुरी, कमल खरबन्दा र मुकेश रहेका छन्। परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनीहरूको खोजी भइरहेको छ ।
गिरोहले ठगीका लागि क्यासिनोमा डमी खेलाडी खडा गर्ने र उनीहरूलाई विभिन्न होटलमा राख्ने गरेको खुलेको छ। त्यसका लागि होटल अलोफ्टमा ४०, मेरियटमा ५० र राडिसनमा २० गरी कुल ११० वटा कोठा बुक गरिएको पाइएको छ।
महाकाया ग्रुपका दिनेश बर्माले भारतबाट ५० प्याकेट चुम्बकजडित तास र ४ सेट आँखामा लगाउने लेन्स खरिद गरेको खुलेको छ। बीपी ग्रुपका जनार्दन उप्रेतीले १२ सेट तास क्यासिनोमा प्रवेश गराएको, ३८ सेट होटलमा स्टक राखेको तथा दुई सेट आइलेन्सका खाली डब्बा प्रहरीले बरामद गरेको छ ।
एक जोडी लेन्स डमी खेलाडीले प्रयोग गरेको र अर्को जोडी गौरव खत्री र मोनु भन्ने निरज कुमारले लगाएरै फरार भएको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार मुख्य खेलाडी दिनेश बर्मा र विक्रम सिंह हुन् । बर्मा भारतको हरियाणाका र सिंह उत्तराखण्डका हुन्। सिंह नै खेलमा सक्रिय मुख्य खेलाडी रहेको परिसरका प्रमुख तथा एसएसपी रमेश थापाले जानकारी दिए ।
चुम्बकजडित तास र आइलेन्सको व्यवस्थापन बर्माले गर्ने गरेको र क्यासिनोमा जितेको रकममध्ये ९० प्रतिशत आयोजक/सञ्चालकले तथा १० प्रतिशत खेलाडीले पाउने सहमति अनुसार धन्दा चलिरहेको खुलेको छ। यही सहमतिमा विक्रम सिंह र प्रमोद मौर्यलाई खेलाडीका रूपमा ल्याइएको थियो।
आँखामा लगाइने लेन्स २ देखि ३ घण्टासम्म प्रयोग गर्न मिल्ने र त्यसले तासको संकेत देखाउने प्रहरीको भनाइ छ । बर्माले होटल अलोफ्टको कोठा नम्बर २०८ मा चुम्बकजडित तास निरज कुमारलाई दिएको र बाँकी तास सोही कोठाबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपालतर्फबाट विनोद भन्ने जनार्दन उप्रेती बीपी ग्रुपका तर्फबाट मुख्य आयोजक रहेको प्रहरीको दाबी छ। उनले होटल, हवाई टिकट, टेबल बुकिङदेखि सम्पूर्ण व्यवस्थापन गर्ने, बीपी ग्रुपकै नामबाट होटल र क्यासिनोको बिल भुक्तानी गर्ने र स्वयं जुवा खेल्ने गरेको खुलेको छ।
महाकाया समूहका सञ्चालक सुरेश महाजनले नेपाल, भारत, श्रीलंका, भियतनाम र कम्बोडियामा यस्ता इभेन्ट आयोजना गर्दै आएको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार क्यासिनो प्राइडमा विगत दुई वर्षदेखि यस्ता इभेन्ट सञ्चालन हुँदै आएको र क्यासिनो वाल्डोमा मंसिर २५ देखि २८ गतेसम्म इभेन्ट भएको थियो। वाल्डोमा इन्डियन फलास खेलाउन ७ देखि १० वटा टेबल बुक गरिएको पनि खुलेको छ ।
यो समूहको क्यासिनो प्राइडका सञ्चालक विनय साह र दावा सेट्टी भनिने दावा शेर्पासहित अन्य केही नेपालीसँग पनि सम्पर्क देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।