काठमाडौं । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेन्द्र साह ‘बालेन’बीच सातबुँदे सम्झौता हुँदै गर्दा उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई पनि समेट्न बालेनले ठूलो प्रयास गरे ।
शनिबार दुई पटकसम्म उनीहरुबीच वान टु वान वार्ता भयो । तर, सहमती हुन नसक्दा अन्तिममा रवि र बालेनबीच सात बुँदे सम्झौता हुन पुग्यो र कुलमान छुटे । उक्त सम्झौताको मुख्य बुँदा बालेन प्रधानमन्त्रीको उम्मेदवार हुने र रवि पार्टी सभापति रहने भन्ने रहेको छ ।
कुलमानलाई पनि सँगै ल्याउन बालेनले जोड गरे । तर उनी सफल हुन सकेनन् । यसको पछाडि प्रधानमन्त्री पद रहेको अहिले विस्तारै खुल्दै छ । वार्ताका क्रममा कुलमानले आफू पनि प्रधानमन्त्री बन्न पाउनु पर्ने अडान राखे । तर, बालेनले त्यसलाई ठाडै अस्वीकार गरेपछि उनीहरुबीच सहमति हुन नसकेको स्रोत बताउँछ ।
शनिबार बिहानको भेटमा बालेनले रास्वपासँग भएको आधारभूत सहमतिबारे व्रिफिङ गर्दै त्यसमा मिसिन कुलमानलाई प्रस्ताव गरे । तर, कुलमानले निशर्तरुपमा रास्वपामा विलय हुन नजाने अडान लिए । दिउँसो पार्टीको केन्द्रीय समिति वैठकमा सहभागी भएर उनले आत्मसम्मान गुमाएर एकता नगर्ने अभिव्यक्ति दिएका थिए ।
साँझ फेरि बालेन र कुलमानबीच बालुवाटारमा भेटवार्ता भयो । उक्त भेटवार्ता पनि सकारात्मक हुन सकेन । कुलमानले आधा कार्यकाल आफू प्रधानमन्त्री बन्ने प्रस्ताव बालेनले अस्वीकार गरेको स्रोत बताउँछ ।
बालेनले रास्वपासँग पार्टी एकता गर्न आग्रह गरे पनि ठोस प्रस्ताव नदिएको भन्दै कुलमानले अस्वीकार गरेका थिए । जेनजी आन्दोलनको म्यान्डेट नै आफू ५ वर्ष प्रधानमन्त्री हुनुपर्छ भन्ने रहेको भन्दै बालेनले कुलमानलाई प्रधानमन्त्री बनाउन नसकिने बताएका थिए । प्रधानमन्त्रीमा भागबण्डा हुन नसक्ने बालेनको अडानपछि कुलमान बाहिरिएको स्रोत बताउँछ ।
कुलमानले यसअघि रास्वपामा आफ्नो ओहदा र पार्टीको हिस्सेदारीको शर्त पनि राखेका थिए । पार्टीको नाम रास्वपा स्वीकार गरिसकेपछि कम्तिमा चुनाव चिन्ह उज्यालो नेपालको हुनुपर्ने उनको अडान थियो । रास्वपा यसमा सहमत भएन । केन्द्रीय समिति, पदाधिकारी र उम्मेदवारीमा निश्चित प्रतिशत हिस्सा उज्यालो नेपालले पाउनुपर्ने मागलाई पनि रास्वपा नेतृत्वले अस्वीकार गरिदिएपछि कुलमान पार्टी एकताबाट ब्याक भएको स्रोतको भनाई छ ।
उक्त कुरालाई आज पोखरा पुगेर कुलमानले गरेको भाषणले पनि पुष्टि गर्छ । उनले आज आफ्नो अस्तित्व मासेर पार्टी एक हुने कुरा स्वीकार्य नहुने बताए । कुलमानले आफ्नो पार्टीको अस्तित्व समाप्त हुने गरी कुनै पनि राजनीतिक एकतामा सहभागी हुन नसक्ने स्पष्ट पार्दै रवि लामिछाने र बालेन शाहसँगको राजनीतिक एकतामा आफू किन उभिन नसकेको भन्ने विषयमा पहिलोपटक सार्वजनिक रूपमा धारणा राखे ।
उनले रास्वपाको दल संरचना र उसकै चुनाव चिह्न स्वीकारेर अघि बढ्दा उज्यालो पार्टी नेपालको पहिचान नै समाप्त हुने तर्क गरे। उनका अनुसार रास्वपाको दल संरचना र चुनाव चिह्नमा समाहित भएर जाने प्रस्तावले उज्यालो पार्टी नेपालको राजनीतिक पहिचान र वैचारिक अस्तित्व संकटमा पर्ने भएकाले सो मोडलमा सहमति हुन नसकेको हो।