काठमाडौं । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको कार्यकाल सकिएको छ।
फागुन २१ गते तय भएको प्रतिनिधि सभा चुनावका लागि दलहरुले समानुपातिकतर्फ उम्मेदवारको सूची आज निर्वाचन आयोगमा बुझाएसँगै उनीहरुको कार्यकाल सकिएको हो।
निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेदवारको सूची बुझाउने समय आज र भोलि तय गरेको छ।
संधिवानमा निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म मात्रै सभामुख र उपसभामुख पदमा बहाल रहने उल्लेख छ।
त्यस अनुसार उनीहरुका लागि हिजोसम्म मात्रै उनीहरू पदमा कायम थिए।
संविधानको धारा ९१(६)(क) मा भनिएको छ–‘प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधिसभाका सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।’
यसैगरी, ऐनको दफा २८(८) मा ‘दलले यस दफाबमोजिम तयार भएको उम्मेदवारको बन्दसूची दफा ७ को उपदफा (३) बमोजिम तोकिएको समयभित्र आयोगमा पेस गर्नुपर्नेछ । यसरी बन्दसूची आयोगमा पेस गरेपछि उम्मेदवारको मनोनयन गरेको मानिनेछ’ भनिएको छ ।
आयोगको कानून तथा राजनीतिक महाशाखाका अनुसार बन्दसूची बुझाएपछि उम्मेदवारको मनोनयन गरेको मानिन्छ । घिमिरे २०७९ माघ ५ गते सभामुखमा निर्वाचित भएका थिए भने माघ ७ गते राना उपसभामुखमा निर्वाचित भएकी थिइन्।
यसैबीच, उपसभामुख ईन्दिरा राना मगरले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेकी छन् ।
आइतबार उपसभामुख रानाले संघीय संसद सचिवालयमा प्रक्रिया पुर्याएर गाडीको चाबी हस्तान्तरण गरेकी हुन् ।
प्रतिनिधि सभा विघटन नभएको भए अझै दुई वर्ष उपसभामखुसहित सभामुखको कार्यकाल बाँकी रहन्थ्यो ।