काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकताका लागि औपचारिक सहमति भएको छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाललाई समावेशी, सहभागितामूलक, न्यायपूर्ण र समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा सुदृढ बनाउने साझा लक्ष्यसहित दुवै पार्टीले एकतासम्बन्धी सहमति–पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधव कुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्ताक्षर गरेका छन् ।
सहमति–पत्रमा विविधतामा एकता नेपालको राष्ट्रिय विशेषता भएको उल्लेख गर्दै ऐतिहासिक विभिन्न कालखण्डमा सम्पन्न जनआन्दोलन, जनयुद्ध, थारू आन्दोलन, मधेश विद्रोहलगायत संघर्षबाट प्राप्त उपलब्धिको रक्षा र थप सुदृढीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
साथै, युवाहरूको आन्दोलनशीलता, वैचारिक दृढता र राजनीतिक परिवर्तनप्रतिको आकांक्षालाई सही दिशामा अगाडि बढाउन पार्टी एकता अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ।
सहमति अनुसार दुवै पार्टीबीच एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहनेछ। निर्वाचन चिन्हसमेत सोही पार्टीअन्तर्गत रहनेछ। संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिष्ट पार्टीका सदस्य रहने व्यवस्था गरिएको छ।