काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमा होहल्ला गर्ने इतिहासविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएको टिप्पणी गरेका छन् ।
रुकुमपूर्वदेखि काठमाडौंसम्म यात्रामा आएका केशव रावलको सम्मानसहितको यात्रा समापन कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
उनले लामो इतिहास भएका पार्टीहरू अब सिद्धिसके भन्ने हल्ला जनताले नपत्याएको भन्दै जनतामा नेपाली कम्युनिष्ट पार्टी र यसले लिएको विचारप्रति आकर्षण रहेको जिकिर गरे ।
उनले भने- 'सामाजिक सञ्जाल हेर्यो भने, शहरबजारका मान्छेका होहल्ला हेर्यो भने त विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेजस्तो छ । पार्टीहरू त सिद्धिसके भन्ने छ । दशकौं लडाईं लडेर, आन्दोलन गरेर, त्याग–तपस्याका कीर्तिमान कायम गरेकाहरूलाई अहिले बदनाम गर्न खोजिँदैछ ।'
दशकौँको संघर्ष, त्याग र तपस्याबाट स्थापित पार्टीहरू अब आवश्यक छैनन् भन्ने भाष्य निर्माण गर्न खोजिएको उनको भनाइ थियो ।