विराटनगर । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन कुनै पनि बहानामा रोकिन नहुने बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेको र माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुन लागेकाले अब निर्वाचनबाट पछि हट्ने ठाउँ नरहेको बताएका हुन् ।
निर्वाचन प्रक्रिया अघि बढिसकेको अवस्थामा तोकिएकै समयमा चुनाव गर्नुको विकल्प नरहेको उनले बताए । यसैबीच उपमहासचिव भट्टराईले निर्वाचनमा उम्मेदवार बन्ने वर्तमान मन्त्रीहरूले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरे ।
प्रधानमन्त्री सुशीला कार्कीले यसबारे क्याबिनेटमा पहिल्यै कुरा उठाएको स्मरण गराउँदै उनले भने, ‘जो मन्त्रीहरू निर्वाचनमा उठ्दै हुनुहुन्छ, उहाँहरूले मनोनयन दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्छ । मन्त्री पदमा बसेर चुनाव लड्दा निष्पक्ष निर्वाचन सम्भव हुँदैन।’