काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचना जारी गर्दै वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको जानकारी दिए ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९क० बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँमा कर्फ्यु आदेश जारी गरेको हो ।
कर्फ्यु आदेश जारी भएको क्षेत्रमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने जनाएको छ ।
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चौक, दक्षिणमा शंकराचार्य गेट क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । वीरगञ्जको स्थिति तनावपूर्ण बनेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।
धनुषाको कमलमा–६सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा गत शनिबार तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाइएको घटना सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। त्यही विषयलाई वीरगन्जमा पनि आइतबारदेखि दुई फरक समुदायले प्रदर्शन गर्दै आएका छन्।