काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जका विभिन्न क्षेत्रमा सोमबार बिहानदेखि लागू गरिएको कर्फ्यु हटाएको छ ।
प्रशासनले सोमबार बिहान ९:४५ बजेदेखि आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउमा पूर्ण प्रतिबन्ध लगाउँदै कर्फ्यु जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार परिस्थितिमा क्रमशः सुधार आएपछि कर्फ्यु हटाइएको हो ।
'स्थिति नियन्त्रणमा आउँदै गएको छ, त्यसैले कर्फ्यु हटाइएको छ,' उनले बताए।
तर, अवस्था पूर्ण रूपमा सामान्य नभएकाले वीरगन्ज महानगरपालिकाका केही संवेदनशील क्षेत्रमा भने निषेधाज्ञा जारी गरिएको छ। सोमबार बेलुकी ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ।
उक्त अवधिभर कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने स्पष्ट गरिएको छ।
