काठमाडौं । कुलमान घिसिङले बुधबार मन्त्री पदबाट राजीनामा दिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय मन्त्रीबिहीन भएका छन् ।
उज्यालो नेपाल पार्टी स्थापना गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा विलय गराएका घिसिङ उपसभापति बनेपछि मन्त्री पदबाट राजीनामा दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी थिइन् ।
आफू रास्वपाको सदस्य नभएको दाबी गर्दै घिसिङले सुरुमा राजीनामा दिन आनाकानी गरे पनि दलका उपसभापति नागरिक सरकारको मन्त्रीमा बस्न नमिल्ने दबाब सामाजिक सञ्जालमा बढेपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।
घिसिङको राजीनामापछि रिक्त तीन विकासे मन्त्रालयमा नयाँ मन्त्रीको बन्ने भन्ने विषयमा चर्चा सुरु भएको छ । ऊर्जासहितका मन्त्रालयका लागि प्राविधिक पृष्ठभूमिका पूर्वसचिव देवेन्द्र कार्की र सुमनप्रसाद शर्माको नाम चर्चामा छ ।
इन्जिनीयर नै भए पनि सचिवमा क्लष्टरको ब्यवस्था नहुँदा शर्मा अर्थमन्त्रालयको सचिव पनि भएका थिए । कार्की र बस्नेतमध्येबाट कार्कीले रिक्त मन्त्री नियुक्त गर्ने संभावना रहेको स्रोत बताउँछ ।
स्रोतका अनुसार देवेन्द्र कार्कीको सम्भावना बलियो देखिएको छ। त्यसैगरी कानुन मन्त्रालयका पूर्वसचिव उदय सापकोटाको नाम पनि सम्भावित मन्त्रीका रूपमा चर्चामा छ ।