काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आर्थिक सुधार, रोजगारी, राजस्व–खर्च व्यवस्थापन, आधुनिक पूर्वाधार तथा महानगरको ‘डेलिभरी मोडल’लगायत विषयमा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग चरणबद्ध छलफल भइरहेको बताएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् वाग्लेले बालेनसँग छलफल भइरहेको तस्बिर सार्वजनिक गर्दै ‘उन्नयनको आसन्न अध्याय’ शीर्षकमा छलफल जारी रहेको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्,‘आर्थिक सुधारको शृंखला, वृद्धि, रोजगारी, राजस्व र खर्च, आधुनिक पूर्वाधार, महानगरको ‘डेलिभरी मोडल’लगायत विषयमा रास्वपा नेता एवं प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहसँग चरणबद्ध छलफल जारी छ।’
यसैक्रममा वाग्लेले आगामी चुनावी अभियानको कार्यक्रम पनि सार्वजनिक गरेका छन् । उनका अनुसार माघ ५ गते पार्टी सभापति रवि लामिछानेसहित जनकपुर जाने तयारी भइरहेको छ ।
‘माघ ५ गते सभापति रवि लामिछानेसहित हामी जनकपुर आउँदै छौँ । देश जोड्ने र बनाउने महाअभियानको सुरुवात मधेसबाट, निकास फागुन २१ को निर्वाचनबाट,’ वाग्लेले लेखेका छन् ।
रास्वपाले मधेसबाट चुनावी अभियान सुरु गर्दै आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राखेर जनतामाझ जाने संकेत दिएको छ ।