काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र रहेका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।
निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि जारी विज्ञप्तिमा थापाले पार्टीलाई विधि, विधान र पद्धतिमा आधारित ढंगले बलियो बनाउने जिम्मेवारी अब आफ्नो काँधमा आएको बताएका छन्।
'विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौँ,' थापाले विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, सहमत भएका वा नभएका सबैलाई संयमित, जिम्मेवार र एकताबद्ध बन्न आग्रह गरेका छन्।
'विश्वास र भरोसा राख्नुस्। अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा सुरु भइसकेको छ,' थापाले भनेका छन्, 'आशन्न निर्वाचनमा उच्च आत्मविश्वास र व्यापक तयारीका साथ एकढिक्का भएर लाग्नुपर्छ।'
सभापति थापाले पार्टीका पूर्व सभापति शेरबहादुर देउवालगायत पार्टीका सबै तह र निकायमा रहेका नेताहरूबाट लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा स्वीकार गर्दै पूर्ण साथ रहने विश्वास व्यक्त गरेका छन्।
उनले कांग्रेसभित्र कुनै गुट नरहेको स्पष्ट पार्दै गुटगत भागबन्डा नहुने बताएका छन्। 'जिम्मेवारी फरक हुन सक्छ, तर सदस्य र सभापतिको हैसियत समान हुन्छ,' थापाले उल्लेख गरेका छन्।
विशेष महाधिवेशनमार्फत पार्टीले विगतका कमजोरीप्रति आत्मआलोचना र समीक्षा गरेको उल्लेख गर्दै थापाले कांग्रेस अब समयको मागअनुसार रूपान्तरण हुनुपर्ने बताएका छन्।
'नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नवयुवाको परिवर्तनको आकाङ्क्षाअनुसार अगाडि बढ्नेछ,' उनले भनेका छन्, 'अब कांग्रेसले मूल्य र सिद्धान्त विपरीत गएर कुनै सम्झौता गर्ने छैन। सत्ताका लागि अप्राकृतिक गठबन्धन गर्ने अभ्यास अन्त्य हुनेछ।'
संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व कांग्रेसले गर्ने प्रतिबद्धता व्यक्त गर्दै थापाले पार्टीलाई अगाडि बढाउन थप साथ र विश्वासको अपिल गरेका छन्।