Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विदेशिएका लमजुङेलाई गुरुङले भने - घरमा फोन गरेर सूर्यमा भोट हाल्न भनिदिनुस्, विश्वास टुट्न दिने छैन

विदेशिएका लमजुङेलाई गुरुङले भने - घरमा फोन गरेर सूर्यमा भोट हाल्न भनिदिनुस्, विश्वास टुट्न दिने छैन

बुधवार , माघ ७, २०८२

लमजुङ । नेकपा एमालेका उपाध्यक्ष तथा एमालेबाट लमजुङका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले विदेशमा रहेका लमजुङेली दिदीबहिनी तथा दाजुभाइलाई भावुक सन्देश दिँदै यसपटक पनि ‘सूर्य’ चिन्हमा भोट हाल्न आफ्ना परिवार, आफन्त र साथीभाइलाई फोन र सन्देशमार्फत आग्रह गर्न अपिल गरेका छन् ।

सात समुद्रपारि रहे पनि मन र मुटु लमजुङमै धड्किरहेको उल्लेख गर्दै गुरुङले सामाजिक सञ्जालमार्फत प्रवासमा रहेका लमजुङेलीको प्रभाव जिल्लाको राजनीतिमा निर्णायक हुने बताएका हुन् ।

‘तपाईंहरू आज परिवारको खुसी र भविष्यका लागि परदेशको भूमिमा पसिना बगाइरहनुभएको छ। जब-जब लमजुङमा घाम उदाउँछ, तपाईंहरूको मन दोर्दी, चेपे र मर्स्याङ्दीका किनारहरूमा डुल्न आइपुग्छ,’ उनले भने ।

आफ्नो राजनीतिक जीवनको हरेक पल लमजुङको माटोलाई सुम्पिएको दाबी गर्दै गुरुङले गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री हुँदादेखि लमजुङको जनप्रतिनिधि रहँदासम्म आफ्नो लक्ष्य सधैं ‘समृद्ध लमजुङ’ नै रहेको बताए ।

उनले हिजो र आजको लमजुङमा आएको परिवर्तन स्मरण गराउँदै मोटरबाटो, कालोपत्रे सडक, बिजुली, स्वास्थ्य र शिक्षामा उल्लेखनीय प्रगति भएको दाबी गरे।

‘स्मार्ट भिलेज’ अवधारणामार्फत घलेगाउँ र काउलेपानीलाई विश्वसामु चिनाइएको, गण्डकी विश्वविद्यालय स्थापना गरिएको र लमजुङ अस्पताल स्तरोन्नतिमा आफूले भूमिका खेलेको उनले उल्लेख गरे।

तर अझै धेरै काम बाँकी रहेको भन्दै गुरुङले अब युवाहरू कामको खोजीमा विदेशिनु नपर्ने अवस्था सिर्जना गर्ने सपना अघि सारे।

‘मेरो सपना छ— तपाईंहरूले विदेशमा सिकेको सीप आफ्नै गाउँमा प्रयोग गर्न पाइयोस्, लमजुङमै रोजगारी सिर्जना होस्,’ उनले भने।

भौतिक रूपमा उपस्थित नभए पनि प्रवासी लमजुङेलीको प्रभाव ठूलो रहेको उल्लेख गर्दै गुरुङले भने, ‘मलाई तपाईंहरूको एउटा कल र सन्देशको ठूलो आशा छ।’

उनले घरमा फोन गरेर 'हाम्रो लमजुङ बनाउने, सुखदुःखमा साथ दिने र अनुभवले खारिएको नेता पृथ्वी सुब्बा गुरुङ नै हो, त्यसैले यसपटक पनि हाम्रो भोट सूर्यमा होस्' भन्न आग्रह गरे।

लमजुङलाई देशकै नमुना जिल्ला बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै गुरुङले भने, ‘तपाईंको विश्वास टुट्न दिने छैन। तपाईं स्वदेश फर्कँदा गर्व गर्न मिल्ने लमजुङ बनाउने जिम्मा मेरो भयो ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077