काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ ।
उपत्यकामा हुस्सु लागेर चिसो बढेसँगै यहाँको जनजीवन पनि कष्टकर बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो घाम लागे पनि हुस्सु पूरै नहट्ने सम्भावना छ, जसले चिसो अझ बढाउने अनुमान गरिएको छ । उपत्यकामा प्रदूषण र धुलोका कारण पनि हुस्सु लामो समयसम्म कायम रहने मौसमविद्हरू बताउँछन् । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानहरूमा ढिलाइ हुनसक्ने बताइएको छ ।

मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म देशभर जाडो बढ्ने क्रम जारी रहनेछ । तत्काल वर्षाको सम्भावना नभएकाले चिसो अझ बढ्नसक्ने अनुमान छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । नागरिकहरूलाई जाडोबाट बच्न न्यानो कपडा लगाउन, आगो ताप्दा सावधानी अपनाउन र सवारी चलाउँदा विशेष ख्याल गर्न विभागले आग्रह गरेको छ ।
विशेषगरी वृद्ध वृद्धा, बालबालिका र दीर्घ रोगीहरूलाई चिसोबाट बच्न सतर्कता अपनाउन सुझाव दिइएको छ ।