काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई तोक्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पौडेललाई बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार मन्त्रिपरिषद् बैठकले विभिन्न जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
स्वीकृति पाउने आयोजनाहरूमा सुतिखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना तथा सेतिखोला जलविद्युत् आयोजना रहेका छन्।