काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले शहीदहरूको बलिदान राजनीतिक परिवर्तन, सुशासन, न्याय र समृद्धि हासिल गर्ने सपना भएको बताएका छन् ।
शहिद दिवसको अवसरमा सन्देश जारी गर्दै अर्यालले निरंकुश राणा शासनको अन्त्यदेखि राजनीतिक आन्दोलन, जनअधिकार र सामाजिक न्यायका लागि प्राण आहुति दिने अमर शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
अर्यालले जारी गरेको सन्देशमा भनिएको छ- 'शहिदहरूले प्राण आहुति दिँदा देखेको सपना राजनीतिक परिवर्तनमा मात्र सीमित थिएन, त्यो आम नेपालीको जीवनमा सुशासन, न्याय र समृद्धिको सपना थियो । तर लामो राजनीतिक अस्थिरता र दलतन्त्रको मनोमानीले ती सपना अझै अधुरा छन्।'
फागुन २१ गते हुने निर्वाचनलाई उपसभापति अर्यालले सामान्य प्रतिनिधि चयन मात्र नभई मुलुकमा नयाँ आशा र नेतृत्व उदयको अवसरका रूपमा लिने बताए ।
अर्यालले शहिदको बलिदानको वास्तविक सम्मान राष्ट्रिय स्वाभिमान र एकताको अभिवृद्धि तथा जनअपेक्षाको उचित सम्बोधनबाट मात्रै सम्भव हुने उल्लेख गर्दै जनउत्तरदायी राज्य र कर्मशील नागरिकको संयोजनबाट सहिदका सपना पूरा गर्न सकिने बताए ।