काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुंगा बनेको बताएका छन् ।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओबीच सोमबार भएको शिष्टाचार भेटमा उनले यस्तो बताएका हुन् ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा चार दिने भ्रमणमा छन् ।
'जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ जसले मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जर्गेनाका क्षेत्रमा उल्लेख्य भूमिका खेलेको छ, यी क्षेत्रहरुमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी अझैँ लाभान्वित हुन चाहन्छौं,' भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नतिको क्रममा रहेको र यसमा नेपालले सदाझैँ जापानबाट सद्भाव र सहयोग प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे ।
सो अवसरमा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले २३ र २४ भदौमा भएको प्रदर्शनीपछि राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि खेलेको भूमिकाप्रति देशबाहरि पनि प्रशंसा भएको बताए ।