काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चार दिने औपचारिक भ्रमण सकेर आज यहाँको नारिता विमानस्थलबाट स्वदेश प्रस्थान गरेका छन् ।
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन सोमबार यहाँ आएका थिए ।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भए। उनले सो समारोहलाई सम्बोधन गरे ।
त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे। उनले जापानका प्रधानमन्त्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए।
भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेका नेपालीहरूको कार्यक्रमलाई पनि उनले सम्बोधन गरे। उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकनसमेत गरे।
नेपाल जापानबिच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो।
राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमणका लागि आइतबार राति नेपालबाट जापानतर्फ प्रस्थान गरेका थिए।