काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा गठबन्धन नगरी पहिलो शक्ति बन्ने उद्घोष गरेका छन्।
आज बिहान नेकपाको केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सबै दलहरूलाई जित्ने र लोकप्रिय मत ल्याउने बताएका हुन्।
सम्बोधनको क्रममा प्रचण्डले भने- 'कुनै पनि पार्टीसँग अब नेकपाले तालमेल गर्दैन । अहिलेसम्मको चुनाव प्रचारको ‘ट्रेन्ड’ हेर्दा हामी अरु दलभन्दा अगाडि छौँ । हाम्रा उम्मेदवारले जनताबाट रेस्पोन्स पाइरहेका छन्। चुनाव हामी जित्दैछौँ। हामी पहिलो पार्टी बन्दैछौँ। '
प्रचण्डले जनताबाट अस्वीकृत कुनै पनि पार्टीसंग गठनबन्ध नगर्ने नीति आफ्नो पार्टीले लिएको बताए ।
करिब एक घण्टासम्म चलेको जुम बैठकमा प्रचण्ड, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र देशभरबाट पार्टीका केन्द्रीय सदस्यहरु सहभागी थिए ।