एजेन्सी । जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीले मध्यावधि निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेकी छिन्।
आइतबार सम्पन्न निर्वाचनमा ताकाइची नेतृत्वको सत्तारुढ गठबन्धनले तल्लो सदनमा दुई-तिहाइ बहुमत प्राप्त गरेको हो ।
४६५ सदस्यीय तल्लो सदनमा ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टीले ३१६ सिट जितेको छ। साथै जापान इनोभेसन पार्टीसँगको गठबन्धनले कुल ३५२ सिट सुरक्षित गरेको छ ।
यो नतिजासँगै प्रधानमन्त्री ताकाइचीले अब संसदमा प्रतिपक्षसँग ठूलो सम्झौता नगरी आफ्ना प्रमुख आर्थिक तथा रक्षा नीतिहरू कार्यान्वयन गर्न सक्नेछिन्।
ताकाइचीको जितको खबरसँगै जापानी सेयर बजारमा उत्साह देखिएको छ।
कट्टर रूढिवादी पृष्ठभूमिकी ताकाइचीले सरकारी खर्च बढाउने, करमा सहुलियत दिने र राष्ट्रिय सुरक्षाका लागि रक्षा बजेट वृद्धि गर्ने घोषणा गरेकी छिन्।