काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर सुवास बिस्टविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
गोदावरी नगरपालिका, ललितपुरमा करार इन्जिनियर पदमा कार्यरत बिस्टविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
आरोप अनुसार विष्टले सार्वजनिक पदमा रहँदा आफ्नो वैध आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको देखिएको छ ।
विष्ट १ फागुन २०७६ मा नगरपालिकामा नियुक्त भएका थिए। अकुत आर्जन गरेको उजुरी परेपछि १४ साउन २०८१ सम्मको अवधिमा विष्टले आर्जन गरेको सम्पत्तिको अनुसन्धान गरिएको थियो ।
विष्टको सार्वजनिक सेवा प्रवेशपछि बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्दात, पारिश्रमिक, भत्ताको बचत रकम, श्रीमतीको तलब बचत रकम, ऋण सापटी रकम र सेयर बिक्रीबाट प्राप्त रकम गरी जम्मा एक करोड २७ लाख ७४ हजार ६७३ रुपैयाँ आम्दानी गरेका थिए। सोही अवधिमा विष्टको जग्गा खरिद, घर निर्माण, सेयर खरिद भएको खर्च, निजको छोराको अध्ययन खर्च, बैंक तथा वित्तीय संस्था एवम् सहकारीबाट लिएको ऋण सापटीको साँवा र ब्याज, विभिन्न कम्पनीमा पुँजी लगानी, बिमा प्रिमियम भुक्तानी, उनी र उनको एकासगोल परिवारका सदस्यहरूको नाममा बैंक तथा वित्तीय संस्थाहरूको खातामा भएको मौज्दात रकम गरी तीन करोड २४ लाख ८४ हजार ८३० रुपैयाँ भेटिएको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले न्यौपानेले बताए।
अनुसन्धानका क्रममा उनको आय-व्यय विवरणमा असन्तुलन भेटिएपछि बिगो रु १ करोड ९७ लाख १० हजार १५७ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।
विष्टले कुल आय र वैधानिक आय घटाउँदा आउने रकम गैरकानुनी तरिकाले आर्जन गरेको अख्तियारको दाबी छ।
साथै मुद्दामा सुवासका बुबा सुर्दशन बिस्टलाई प्रतिवादी बनाइएको छ ।
