Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मालपानीका कारण विचौलिया भट्टको सहित १५ वटा ल्यान्डरोभर गाडी जफत हुने अवस्थामा

मालपानीका कारण विचौलिया भट्टको सहित १५ वटा ल्यान्डरोभर गाडी जफत हुने अवस्थामा

बुधवार , माघ २८, २०८२

काठमाडौं । विवादास्पद व्यापारी कमल किशोर मालपानीले करिव ८ करोड पर्ने ल्यान्डरोभर डिफेन्डर गाडी बालेन्द्र साह ‘बालेन’ लाई चुनाव प्रचारमा प्रयोग गर्न दिएपछि अवैध रुपमा १५ वटा त्यस्ता गाडीहरु पनि भित्रिएको खुलासा भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ वटा त्यस्ता गाडीहरुको अनुसन्धान गर्ने क्रममा मालपानी र राकेश अडुकियाले हङकङमा नक्कली कम्पनी खडा गरेर कीर्ते कागजात पेश गरी नेपालमा आधिकारीक विक्रेताको प्रमाणपत्र लिइ भन्सार छलेर भित्र्याएको खुलेको हो । 

१५ वटा गाडीमध्ये विचौलिया दीपक भट्टले चढ्ने गरेको २९९६ सीसीको बागमती प्रदेश–०१–०३३ च १ नम्बरको रेन्जरोभर गाडी पनि रहेको खुलेको छ । उक्त गाडी यातायात कार्यालय एकान्तकुनामा २०८२ असार ३१ गते दर्ता भएको देखिन्छ । 

काइरोस इन्टरनेशनलले अडुकियाको हङकङकै कम्पनीमार्फत भित्र्याएको यो गाडी २०८२ पुस ४ गते अडुकियाकै अरेटी इन्टरनेशनलमा नामसारी भएको छ । अडुकियाको अरेटी इन्टरनेसनल कम्पनीले टेस्ला गाडीको पनि अवैध रुपमा आयात गर्दैआएको छ । 

यातायात कार्यालयको रेकर्ड अनुसार उक्त गाडी २०८२ माघ १३ गते जगदम्बा मोटर्स प्रालिको नाममा नामसारी भएको देखिन्छ । 

जगदम्बा मोटर्समा सुलभ अग्रवालसँग विचौलिया भट्टको साझेदारी रहेको छ । भट्टले चढ्ने उक्त गाडीको भन्सार दर कति घटाएर भित्र्याइएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको अख्तियार स्रोत बताउँछ । 

अडुकियाले भित्र्याएका ल्यान्डरोभर कम्पनीको तीनवटा रेन्जरोभर भेलर (१९९७ सीसी, डिजेल इन्जिन, आइसीई) र अन्य १२ वटा गाडीको भन्सार दर घटाएर कर छली भएको देखिएको छ । १५ वटा गाडी भित्र्याउँदा करिव १४ करोड राजश्व छली भएको स्रोत बताउँछ । 

अडुकियाले काइरोसमार्फत गाडी भित्र्याउँदा डिजेल इन्जिन गाडिलाई पेट्रोल इन्जिन प्लगइन हाइब्रिडको २९९६ सीसी जनाएर भन्सार दर घटाइ राजश्व छली गरेको पाइएको छ । 

अवैध रुपमा ल्यान्डरोभर कम्पनीका गाडी आयात गर्दै आएको काइरोस इन्टरनेशनललाई के आधारमा वाणिज्य विभागले आधिकारिक विक्रेताको प्रमाणपत्र दियो भन्ने बारेमा अख्तियारले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ ।

काइरोसले अहिलेसम्म भित्र्याएका १५ वटा गाडीको विवरणसहित अख्तियारले भन्सार विभाग र वाणिज्य विभागका उच्च पदस्थ कर्मचारीहरुलाई बयानमा बोलाएर अनुसन्धान गरिरहेको छ । 

हङकङमा आफन्तकै नाममा अटोमोवाइल युनिभर्सल डेभलभमेन्ट इन्टरनेशनल (औडी) नामक एक साधारण कम्पनी दर्ता गरी सोही कम्पनीको नेपालमा काइरोस इन्टरनेशनलाई एजेन्सी बनाएर अडुकिया र मालपानीले गाडी आयातको धन्दा चलाउँदै आएका छन् । 

जबकी ज्यागुअर ल्यान्डरोभर (जेएलआर) को आधिकारिक विक्रेता नेपालमा छैन । तर, काइरोसले आफूलाई जेएलआरको आधिकारीक विक्रेता दावी गरी नक्कली कागजात पेश गरेर वाणिज्य विभागबाट प्रमाणपत्र लिएको छ । 

जेएलआरले औडीसँग गाडीसम्बन्धी कारोबार गरेको कहिं कतै नदेखिएको पनि अनुसन्धानका क्रममा खुलिसकेको छ । 

मे २१, २०२५ मा हङकङमा स्थापना भएको औडीका कागजात अडुकियाले वाणिज्य विभागमा पेस गर्दा सन् २०२३ मै दर्ता भएको कीर्ते बनाएर पेश गरेको खुलेको छ । कीर्ते कागजातलाई आर्थिक चलखेल गरी बैद्यता दिएर राजश्व छलीलाई सघाउने वाणिज्य विभागका केही केही कर्मचारीहरुलाई अख्तियारले कारबाहीको दायरामा ल्याउन लागेको छ । 

बालेनले झापामा हुँदा प्रयोग गरेको बागमती प्रदेश–०१–०३३च४३४३ नम्बरको डिफेन्डर गाडी भित्र्याउँदा मात्रै ७६ लाख ५० हजार ७२० रुपैयाँ राजश्व छली भएको खुलेको छ । 

त्यस्ता गाडीहरु वीरगञ्ज भन्सार कार्यालयमा आइपुग्दा समेत भन्सारका कर्मचारीहरूले कुनै किसिमको प्राविधिक वा कागजी चेकजाँच गरेको देखिदैन । भन्सारका कर्मचारीले अडुकियासँग ठूलो साँठगाँठ गरी १०१ प्रतिशत भन्सार महसुल कम गरेर गाडी भित्र्याउन छुट दिंदै आएका छन् । 

भन्सारका कर्मचारीहरुले ३५८ प्रतिशत लगाउनुपर्ने भन्सार महसुल नलगाई केवल २५७ प्रतिशत मात्र लगाएर गाडी छुटाएको खुलेकाके छ । 

यसरी भित्र्याइएका गाडी यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा डिजेल वा पेट्रोल भनेर नछुट्याइकनै दर्ता गरेको पनि अनुसन्धानका क्रममा खुलेको छ । जवकी हाइव्रिड, इलेक्ट्रिक तथा डिजेल वा पेट्रोल कुन इन्जिन हो भनेर छुट्याउन त्यति अप्ठेरो छैन । 

यातायात व्यवस्था विभागका कर्मचारीहरुले कुन प्रकारको सवारी साधन हो भनेर गम्भीर रूपमा चेकजाँच नगरेका कारण उनीहरुको पनि मिलेमतो रहेको प्रष्ट देखिन्छ । 

त्यसो त अडुकियाका झैं तीन वर्ष अघि मेरियट होटलका सञ्चालक शशीकान्त अग्रवालले तीनवटा गाडि भित्र्याउँदा भन्सार कार्यालयले जफत गरेको थियो ।

अग्रवाल आफैले नेपालमा आधिकारिक विक्रेता नै नभएको औडी कम्पनीका गाडी भित्र्याएका थिए । 

अहिले अडुकिया र मालपानीको मिलेमतोमा भित्र्याइएका १५ वटा गाडी जफत गर्नु पर्नेमा भन्सारले भने राजश्व थप गरी बैद्यता दिन खोजिरहेको छ । 

भन्सार विभागले काइरोस इन्टरनेशनल नै खारेज गरी १५ वटै गाडी जफत गर्नुपर्नेमा विचौलिया भट्टले चलखेल गरी सेटिङ मिलाएका कारण अख्तियारको प्रवेश भएको हो ।

अडुकियाको अर्को धन्दा

कुनै समय सुन तस्करीको धन्दामा संलग्न रहेर कारबाही भोगेका अडुकियाले अवैध रुपमा नेपाल भित्र्याएका ज्यागुअर ल्यान्डरोभर कम्पनीका गाडीहरु सर्भिसिङको नाममा हङकङ पठाएर चाँदी तस्करी समेत गर्ने गरेको स्रोत बताउँछ । 

गत महिना मात्रै उनले चार वटा गाडी हङकङ पठाएका छन् । भन्सार विभागले हङकङमा सर्भिसिङ गरेर फर्किएका गाडीहरुको चेकजाँच गर्ने हो भने चाँदीको तस्करी भएको खुल्ने विभागकै एक कर्मचारीले अनलाइन नेपालसँग बताए । 

भारतीय नागरिक अडुकिया हङकङबाट नेपाल ल्याइएका ‘ब्रेक प्याड’भित्र राखेर सुन तस्करी गरेको प्रकरणमा पनि मुछिएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077