काठमाडौं । उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की दिएको अभियोगमा पक्राउ परेका ३३ वर्षीय प्रकाश पाठकमाथि अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिनको म्याद दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले पाठकमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद दिएको जानकारी गराएका हुन्।
पाठकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईसहित १० जना उच्चपदस्थ व्यक्तिहरूलाई अल्टिमेटम दिएर ज्यान मार्ने धम्की दिएको अभियोग छ ।
फिलिपिन्समा बसेर इमेलमार्फत् भीआईपीहरूलाई ज्यान मार्ने धम्की दिएका पाठकलाई बुधबार बिहान प्रहरी परिसरको टोलीले नेपाल ल्याएको थियो। नेपालमा चारवटा मुद्दा खेपिरहेका पाठकले मंसिरको दोस्रो साता पदबाट राजीनामा नदिएमा हत्या गर्ने भन्दै अख्तियारको आधिकारिक इमेलमा मेल पठाएका थिए ।
इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि पाठकलाई फिलिपिन्सको ब्यूरो अफ इमिग्रेसन (बीआई) अन्तरगतको फरार अभियुक्त खोजी युनिटले डिसेम्बर ३१ मा मालोलोस सहरबाट पक्राउ गरेको थियो।