निर्वाचन सफल पार्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुस्ताङ पुगेर महिलाले हाँकेको जिल्ला रहेछ भन्दै खुसी व्यक्त गरेकी छन् ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत मुस्ताङ पुगेकी प्रधानमन्त्रीलाई स्वागत गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) अजिता शर्मा र जिल्ला प्रहरी कार्यालयकी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामासहितको टोली पुगेको थियो ।
आफूलाई स्वागत गर्न आउने सीडीओ र डीएसपी नै महिला देखेपछि प्रधानमन्त्री कार्कीले खुसी ब्यक्त गर्दै भनिन्–‘मुस्ताङ त महिलाले हाँकेको जिल्ला रहेछ ।’
प्रधानमन्त्री कार्कीले नै सीडीओ शर्मा र डीएसपी लामालाई ‘फोटो खिचौँ’ भनेर आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी गराए ।
प्रधानमन्त्रीद्वारा मुक्तिनाथको दर्शन
प्रधानमन्त्री कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छन् । कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन् ।
मन्दिर दर्शनका लागि जाने क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका उपाध्यक्ष रिनजिन नाम्गेल गुरुङ, व्यवस्थापक दिनेश भुसाल र मुक्तिनाथ रानीपौवाका गाउँमुखीलगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री कार्कीले सुरक्षाकर्मी र सहयोगीहरुसँगै करिब २०० मिटरमाथि मन्दिर जाने क्रममा स्वदेशी तथा विदेशी दर्शनार्थी एवं पर्यटकसँग भलाकुसारीसमेत गरेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
त्यस क्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष गुरुङ र मुक्तिनाथ विकास समितिका व्यवस्थापक भुसालले प्रधानमन्त्री कार्कीसमक्ष मुक्तिनाथ मन्दिरमा भक्तजनले भोग्नुपरेका समस्याबारे जानकारी गराएका थिए ।
विकास समितिका उपाध्यक्ष गुरुङले मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण योजनाबारे पुरातत्व विभागमा फाइल पेस भए पनि स्वीकृतिका लागि विलम्ब भइरहेकाले काम गर्न नसकिएको गुनासो गरिएको जानकारी दिए ।
उनले भने–‘मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री पूर्वाधारका लागि चेन्जिङ रुम, १०८ धारा पुनर्निर्माण, एनएक्स भवन, आनी आवासलगायत आठवटा योजना पुरातत्वमा फाइल पेस गरेका छौँ । स्वीकृत हुन ढिलाइ भएकाले काम अगाडि बढेको छैन, यस विषयमा प्रधानमन्त्रीको मौखिक ध्यानाकर्षण गराइएको छ ।’
प्रधानमन्त्री कार्कीले मुक्तिनाथमा करिब एक घण्टा बिताएपछि नेपाल सेनाको हेलिकोप्टरमार्फत जोमसोमस्थित नेपाल सेनाको इन्द्रबक्स गण गएकी थिइन् ।
निर्वाचन सफल पार्न प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री कार्कीले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएकी छन् ।
जोमसोमस्थित इन्द्र बक्स गणमा आयोजित निर्वाचनलक्षित छलफल तथा अन्तरक्रियामा उनले निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै उनले भनिन्–‘निर्वाचनलाई सफल बनाउन दत्तचित्त भएर काम गर्नुहोस्, यहाँहरूले राम्रो काम गर्नुभएको छ, कुनै समस्या नआउने गरी तयारी गर्नुहोला ।’