काठमाडौं । आउँदो प्रतिनिधि सभाको निर्वाचनको अवसरमा फागुन १८ गतेदेखि २४ गतेसम्म एकसाता सार्वजनिक बिदा पर्ने भएको छ।
प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गतेका लागि तय भएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले निर्वाचनको एक दिनअघि, निर्वाचनको दिन र एक दिनपछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारको निर्णयअनुसार फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा हुनेछ।
यसअघि नै फागुन १८ गते पहाडी जिल्लामा होली (फागु पूर्णिमा) को सार्वजनिक बिदा रहेको छ भने फागुन १९ गते तराईका जिल्लामा होलीको बिदा पर्नेछ। त्यसैले चुनावअघि नै दुई दिन बिदा परेको छ।
त्यसपछि फागुन २२ गते शनिबार परेकाले स्वतः सार्वजनिक बिदा हुनेछ । फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस परेको छ, जुन हरेक वर्ष ८ मार्चका दिन मनाइन्छ। सो दिन पनि नेपालमा सार्वजनिक बिदा दिइँदै आएको छ।
यसरी हेर्दा फागुन १८ देखि २४ गतेसम्म निर्वाचन र पर्वको संयोगले देशभर एकसाता सार्वजनिक बिदा हुने भएको छ।
सरकारको निर्णयले सरकारी कार्यालय, शैक्षिक संस्था र अधिकांश सार्वजनिक निकायको सेवा प्रवाहमा अस्थायी प्रभाव पर्नेछ भने निजी क्षेत्रले भने आफ्ना आन्तरिक व्यवस्थाअनुसार कामकाज सञ्चालन गर्नेछन्।