Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङ बस दुर्घटना : छानबिन समिति पुग्यो घटनास्थल

धादिङ बस दुर्घटना : छानबिन समिति पुग्यो घटनास्थल

बुधवार , फाल्गुण १३, २०८२

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–५ चरौंदी नजिक भैंसेडाँडामा आइतबार राति भएको भयावह बस दुर्घटनामा १९ जनाको ज्यान गएपछि सरकार फेरि सक्रिय देखिएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटनालगत्तै उच्चस्तरीय छानबिन समिति गठन गरिएको हो।

गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा सात सदस्यीय समिति गठन गरी घटनास्थलमै अध्ययन सुरु गरिएको जनाइएको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ।

समितिमा नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी बलका एसएसपी भरत खनिया, सडक विभागका सिडिई राकेश महर्जन, मन्त्रालयका उपसचिव वर्तराज पौडेल, यातायात व्यवस्था विभागका निर्देशक श्रीकान्त यादव तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौला सदस्य रहेका छन् ।

टोलीले दुर्घटनास्थलको भौगोलिक अवस्था, सडक संरचनाको गुणस्तर, सवारीसाधनको प्राविधिक परीक्षण, चालकको कार्यघण्टा र व्यवस्थापन अवस्था तथा सम्भावित मानवीय त्रुटिबारे विस्तृत अध्ययन गरिरहेको जनाएको छ।

नेपालमा हरेक ठूला सवारी दुर्घटनापछि छानबिन समिति गठन हुने परम्परा नयाँ होइन। गम्भीर घटनापछि प्रतिवेदन तयार हुन्छ, विभिन्न सुधारका सिफारिस गरिन्छन्, तर कार्यान्वयनको सवाल भने बारम्बार ओझेलमा पर्ने गरेको छ।

बेनीघाटको यो दुर्घटनालाई धेरैले ‘फेरि दोहोरिएको कथा’ का रूपमा लिन थालेका छन्। सडक सुरक्षासम्बन्धी पुराना सुझावहरू कार्यान्वयन नहुँदा जोखिम यथावत् रहेको सरोकारवालाको टिप्पणी छ।

सरकारले छानबिन निष्कर्षका आधारमा आवश्यक कानुनी तथा नीतिगत सुधार गर्ने संकेत दिएको छ। तर विगतका अनुभव हेर्दा प्रतिवेदन कार्यान्वयन हुने–नहुने प्रश्न यथावत् छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077