चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले किसानले तरकारी फाल्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् ।
शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले सिंगो देशबासीलाई आफ्नै देशमा उत्पादन भएको तरकारी खुवाउन चितवनलाई तरकारीलाई कोल्ड स्टोरमा राख्ने हब बनाउने बताएका हुन्।
बालेनले भने- 'किसानले सही मूल्य र बजार नपाएको समस्या रहेछ । केही विचौलिया र नेताहरूको सिन्डिकेटले भारतमा अनेक अनुदान पाउने किसानले उत्पादन गरेको सस्तो तरकारी ल्याएर यहाँको किसानको चाहीँ महंगो जस्तो देखाएर भ्रम सिर्जना गराएर मार्ने काम भएको छ । त्यो रोक्न जरुरी छ ।'
उनले केही नेता र विचौलियाले सिन्डिकेटमा पारेर देशबाहिरको तरकारी खुवाएर किसानलाई मार्ने काम भएको आरोप लगाएका छन् ।
उनले भने- 'तरकारीको कोल्ड स्टोरेजमा स्टोर गर्ने हब बन्न सक्छ, चितवन त्यो बनाउने पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी। '
चितवनमा मात्रै नभएर देशभरीको तरकारी स्टोर गर्ने कोल्ड स्टोर बनाउन सकिने उनको भनाइ थियो।