Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

परराष्ट्र मन्त्रालयले भन्यो- मध्यपूर्वमा रहेका १७ लाख नेपालीको सुरक्षा उच्च प्राथमिकतामा

परराष्ट्र मन्त्रालयले भन्यो- मध्यपूर्वमा रहेका १७ लाख नेपालीको सुरक्षा उच्च प्राथमिकतामा

'सुरक्षा सुनिश्चित गर्न र्‍यापिड एक्सन टिम गठन'

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । परराष्ट्र मन्त्रालयले हाल मध्यपूर्वमा रहेका १७ लाखभन्दा बढि नेपालीको सुरक्षालाई उच्च प्राथमिकता राखेको जनाएको छ ।

शनिबारबाट सुरु भएको इरानसँग अमेरिका र इजरायलको द्वन्द्वले मध्यपूर्वका विभिन्न देशहरूमा असुरक्षा बढेपछि मन्त्रालयले आइतबार पत्रकार सम्मेलनमार्फत नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न विभिन्न कूटनीतिक पहल अघि बढाइरहेको जानकारी गराएको हो।

मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले भने- 'मध्यपूर्वमा रहेका नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ र यसका लागि आवश्यक प्रक्रिया सुरु भइसकेका छन्।'

महाशाखा प्रमुख खड्काका अनुसार, इरानमा रहेका ६, इजरायल करिब ६ हजार ५००, इजिप्ट ५००, ओमान २५ हजार, कतार ३ लाख ५७ हजार ९१३, कुवेत १ लाख ७५ हजार, बहराइन २८ हजार, साउदी अरब ३ लाख ८४ हजार ८६५, युएई लगभग ७ लाख, लेबनान १ हजार ५००, इराक ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेका छन्।

परराष्ट्र मन्त्रालयले ती सबै नेपाली नागरिकको सुरक्षा, आवश्यक परामर्श र तत्काल सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ।

साथै मन्त्रालयले संकट व्यवस्थापनका लागि मध्यपूर्वस्थित नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई समेटेर ह्वाट्सएप ग्रुप बनाएको छ । उक्त ग्रुपमार्फत प्रत्येक देशको ताजा सुरक्षा अवस्था, सरकारी निर्णय, सम्भावित जोखिम तथा नेपाली नागरिकले भोगिरहेका समस्या सम्बन्धी अद्यावधिक जानकारी आदान–प्रदान भइरहेको सहसचिव खड्काले बताएका छन् ।

यस्तै सरकारले मध्यपूर्वमा कार्यरत नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै ‘र्‍यापिड एक्सन टिम’ गठन गर्ने तयारी गरेको छ। 

परराष्ट्र मन्त्रालयका सचिवको संयोजकत्वमा गठन हुने यो टिममा श्रम तथा रोजगार मन्त्रालय, गृह मन्त्रालय लगायत सम्बन्धित अन्य निकायका प्रतिनिधिहरू समावेश हुनेछन्।

उक्त टिमले मध्यपूर्वको घटनाक्रम नजिकबाट अनुगमन गर्ने, आवश्यक निर्णय छिटो लिन सक्ने, सम्बन्धित निकायसँग समन्वय गर्ने र आवश्यक परेमा त्यहाँ रहेका नेपाली नागरिकलाई सहयोगका लागि तत्काल कदम चाल्ने कार्यभार सम्हाल्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077