काठमाडौं । मध्यपूर्वमा बढ्दो युद्ध र सुरक्षा तनावका कारण क्षेत्रका धेरै अन्तर्राष्ट्रिय विमानस्थलहरू अस्तव्यस्त भएपछि गन्तव्यतर्फ जान नसकेका नेपालीहरूलाई सुरक्षित भएर बस्न सरकारले अनुरोध गरेको छ ।
मन्त्रिपरिषद्को बैठकपछि परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्वको अवस्थाबारे विस्तृत छलफल भएको जानकारी दिए ।
उनका अनुसार युद्धका कारण नेपालमाथि परेको प्रभाव, सरकारी प्रतिक्रिया र विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा व्यवस्थाबारे समग्र समीक्षा गरिएको छ।
मन्त्री शर्माले नेपालबाट वैदेशिक रोजगारीका लागि बाहिरिने कामदारहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोग्नुपरेका समस्या समाधान भइसकेको बताए।
श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयको समन्वयमा आवश्यक व्यवस्थापन गरिएको र ट्राभल एड्भाइजरीसमेत जारी भइसकेको उनले जानकारी दिए।
मध्यपूर्वका विभिन्न देशमा ट्रान्जिटमा परेका नेपाली कामदार तथा यात्रुहरूको अवस्थाबारे पनि सरकारले दूतावासमार्फत निरन्तर निगरानी गरिरहेको मन्त्री शर्माले बताए।
उनका अनुसार सम्बन्धित देशका नेपाली दूतावासहरूलाई सक्रिय समन्वयका लागि निर्देशन दिइएको छ । गन्तव्यतर्फ जान नसक्नेहरूलाई होटलमा बस्ने व्यवस्था गरिएको छ भने सम्बन्धित रोजगारदाता कम्पनी वा विमान कम्पनीहरूले रेखदेख गर्ने गरी प्रबन्ध मिलाइएको छ।
'अहिलेसम्म कुनै पनि नेपाली नागरिक हताहत भएको सूचना आएको छैन,' मन्त्री शर्माले भने, 'हरेक दूतावासले त्यहाँ रहेका नेपालीहरूको स्वास्थ्य र सुरक्षाको अवस्था सामान्य रहेको जानकारी गराइरहेका छन्।'