'यसअघि नै दर्ता छन् कुलेविरुद्ध ५ र राकेशविरुद्ध ७ वटा मुद्दा '
काठमाडौं । बौद्धस्थित पाँचतारे होटल ‘ह्यात रेजन्सी’ मा सञ्चालन रहेको ‘प्राइड इन्टरटेन्टमेन्ट रिक्रेसन सेन्टर’ नामक क्यासिनोबाट रकम लुटेको आरोपमा थप दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेली भनिने 'कुले' समुह्का कुलध्वज लामा र राकेश लामा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरुलाई दुवैलाई शनिबार बौद्धबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै पटके अपराधी रहेको प्रहरीले जनाएको छ । काठमाडौं परिसरका अनुसार कुलेविरुद्ध यसअघि नै ५ वटा र अर्का राकेशविरुद्ध ७ वटा मुद्दा यसअघि नै दर्ता भइसकेको छ ।
रोशी गाउँपालिका-४ महादेवटार घर भएका कुलध्वज तरुण दलका केन्द्रीय सदस्य समेत हुन्। उनी भुम्लुका गाउँपालिका उपाध्यक्ष दावा लामाका निकट मानिन्छन् ।
पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा हायात होटलमा सञ्चालित प्राइड इन्टरटेनमेन्ट प्रालीमा लुटपाट भएको थियो ।
जेनजी आन्दोलनको मौकामा गुण्डागर्दी पृष्ठभूमिका खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेका ७र८ जनाको समूहले क्यासिनो लुटपाट गरेको थियो ।
होटल हायात रिजेन्सीले जेनजी प्रदर्शनमा भएको लुटपाट र आगजनीबारे अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको थियो । जाहेरी पछि प्रहरीले उक्त विषयमा अनुसन्धान थालेको थियो ।
क्यासिनोबाट १४ करोड नगद लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । यसअघि पनि लुटपाटमा संलग्न तिन जना पक्राउ परेका थिए ।
पक्राउ परेका ४२ वर्षीय दावा सेट्टी, २९ वर्षीय रञ्जित खड्गी ‘रणे’ र दोर्जे शेर्पा अहिले प्रहरी हिरासतमा छन् ।