Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बानेश्वरको श्रीटेल ट्राभलमा प्रहरीको छापा, सस्तोमा विदेश घुम्ने प्याकेज देखाएर झन्डै ३ करोड ठगी

बानेश्वरको श्रीटेल ट्राभलमा प्रहरीको छापा, सस्तोमा विदेश घुम्ने प्याकेज देखाएर झन्डै ३ करोड ठगी

'६ भारतीय नागरिक र एक नेपाली पक्राउ'

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । सस्तोमा विदेश देश घुमाइदिने भनी रकम झन्डै ३ करोड ठगी गरेको आरोपमा ६ भारतीय नागरिकसहित ७ जना पक्राउ परेका छन् ।

बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वर–१० थापागाउँस्थित श्रीटेल होलिडेज ट्राभल एजेन्सीमा छापा मारेर सातै जनालाई  नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरूमा भारतको हैदरावाद, तेलंगाना घर भएका सायद मजिद, साजिद कुमार, मोहम्मद इमरान, मोहम्मद रज्जक, खालिद हुसैन र ए यादागिरी रहेका छन् । यससँगै कञ्चनरुप नगरपालिका १२, सप्तरीका विवेक रेग्मीसमेत पक्राउ परेका छन् । 

सर्वसाधारणलाई युरोप, एसिया र अफ्रिका लगायतका १७५ देशमा पर्यटक भिसामा घुम्न पठाइदिने भन्दै  ‘प्याकेज अफर’ देखाएर एडभान्समा रकम लिएर नपठाई ठगी गरेको उजुरी प्रहरी आएको थियो ।

उजुरी गरेपछि प्राप्त प्रमाणमा आधार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ३ मा थापागाउँस्थित सो ट्राभलको कार्यालयमा छापा मारेको थियो ।

कार्यालयका अनुसार हालसम्म ३ सय जनाभन्दा बढी व्यक्तिहरूबाट ट्राभल एजेन्सीले २ करोड ७२ लाख रुपैयाँभन्दा बढी रकम उठाएको पाइएको छ । पीडितहरूको संख्या अझै थप हुनसक्ने प्रहरीले जनाएको छ ।

कसरी ठगी हुन्थ्यो ?

उनीहरूले झन्डै ३० जना कर्मचारी राखेर कार्यालय खोलेको र त्यही कार्यालयमा कल सेन्टर जस्तै बनाएर महिला कर्मचारीहरूलाई विभिन्न व्यक्तिलाई फोन गर्न लगाई ट्राभल प्याकेजबारे जानकारी दिने गरिएको थियो । 

ठगीमा संलग्नहरूले काठमाडौं उपत्यकाका सपिङ मलहरूमा ‘ट्राभल डेस्क’ खडा गरेर सपिङ गर्न जानेहरूलाई फारम भर्न लगाउने गरेका थिए । घुम्न जान चाहनेहरूको डिटेल लिएर  उनीहरुले प्याकेज अफरबारे जानकारी गराउँथे ।

त्यसरी प्याकेज बुकिङ गरेकाहरूले टुरमा पठाउन आग्रह गर्दा आनाकानी गर्ने र टुरमै नपठाउने गरिएको पाइएको छ । 

पीडितहरूले टुरमा नपठाउने हो भने रकम फिर्ता गर भन्दा टिकट बुकिङ भइसकेकोले टुर क्यान्सिल गर्दा शुल्क लाग्नेलगायतका बहाना बनाएर रकम फिर्ता नै नदिने र फिर्ता दिएमा पनि थोरै रकम मात्रै दिने गर्थे

ग्लोबल भ्याकेसनका लागि सस्तोमा प्याकेज उपलब्ध गराउने भन्दै खुलेको श्रीटेल कम्पनी एक नेपाली नागरिकका नाममा दर्ता रहेको छ । गत मंसिर महिनामा मात्रै दर्ता भएको कम्पनीले त्यस लगत्तै रकम उठाउन थालेको पाइएको छ । 

नेपालीका नाममा कम्पनी स्थापना गरिएको भए पनि यो कम्पनी भने हैदरावादका भारतीय नागरिकहरूले नै चलाउने गरेका थिए । उनीहरूको उद्देश्य नै रकम उठाएर ठगी गरेर भाग्ने हुनसक्ने प्रहरीको अनुमान छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077