काठमाडौं । नयाँ राजनीतिक शक्ति उज्यालो नेपाल पार्टीले आफ्नो केन्द्रीय सचिवालय गठन गरेको छ । शुक्रबार मध्यरातसम्म बसेको बैठकले अध्यक्ष कुलमान घिसिङ को नेतृत्वमा सचिवालयलाई पूर्णता दिने प्रक्रिया सुरु गरेको हो ।
पार्टी विधानअनुसार १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था भए पनि प्रारम्भिक चरणमा ९ सदस्य मात्रै चयन गरिएको छ । बाँकी पदहरू भने आगामी दिनमा टुंग्याइने जनाइएको छ ।
निर्णयअनुसार अध्यक्षमा कुलमान घिसिङ चयन भएका छन् भने वरिष्ठ नेताको जिम्मेवारी अनुप कुमार उपाध्यायलाई दिइएको छ। उपाध्यक्षमा प्राडा महेन्द्र लावती र महासचिवमा धर्मबहादुर चौधरी चयन भएका छन्।
सचिवहरूमा रामेश्वर श्रेष्ठ, सुमी मोक्तान, जितराम लामा र केदार खड्का चयन भएका छन् भने कोषाध्यक्षको जिम्मेवारी भगवती कक्षपतिलाई दिइएको छ।
यसैगरी, पार्टी प्रवक्तामा श्री गुरुङ, सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्यसचिवमा राजु थापा चयन भएका छन्। यद्यपि, प्रवक्ता र मुख्यसचिव पद भने पार्टी विधानमा स्पष्ट रूपमा उल्लेख नभएको देखिएको छ।
विधानअनुसार अझै एक उपाध्यक्ष, दुई उपमहासचिव र तीन सचिव पद रिक्त रहेका छन्। पार्टीले यी पदहरूमा समेत चाँडै नियुक्ति गर्ने तयारी गरेको जनाएको छ।