Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिमको विजयी सुरुवात

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिमको विजयी सुरुवात

सोमवार , चैत्र ९, २०८२

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले सुखद सुरुवात गरेको छ। 

वीरगन्जस्थित नारायणी रंगशालामा सोमबार कर्णाली प्रदेशविरुद्ध पहिलो खेल खेल्दै सुदूरपश्चिमले चार विकेटको सहज जित निकालेको हो।

सुदूरपश्चिमको जितमा तीव्र गतिका बलर हेमन्त धामी नायक साबित भए। धामी एक्लैले ६ विकेट लिँदै सुदूरपश्चिमको जितलाई सहज बनाए। धामीको घातक बलिङसामू ११९ रनमा समेटिएको कर्णालीविरुद्ध चार विकेटको जित हात पार्दै सुदूरपश्चिमले दुई अंक बटुल्न सफल भयो।

कर्णालीले दिएको १२० रनको लक्ष्य सुदूरपश्चिमले २९।२ ओभरमा पूरा गरेको थियो। कर्णालीविरुद्ध खराब सुरुवात गरे पनि किरण ठगुन्नाले २६ र खडक बोहराले २३ बनाउँदै सुदूरपश्चिमलाई जित नजिक पुर्‍याएका थिए। सुदूरपश्चिमका मिलन बोहराले अविजित १८ र शेर मल्लले अविजित १० रन बनाउँदै जित दिलाए।

कर्णालीका बलर अनुज चनरा र दिवन पुनले २(२ विकेट लिए भने प्रकाश जैसी र दीपेन्द्र रावत १–१ विकेट हात पारे। यसअघि टस हारेर सुरुवाती ब्याटिङ गरेको कर्णालीले ३२ ओभरमा आफ्नो सम्पूर्ण विकेट गुमाउँदै ११९ रन मात्र बनाएको थियो। कर्णालीलाई सामान्य रनमै रोक्ने क्रममा धामीले ६ विकेट लिँदा कप्तान शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले १(१ विकेट लिए।

कर्णालीका विपिन रावलले ३३ र सुनिल धमलाले २३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। पहिलो ओभरको तेस्रो बलमै ओपनर रवीन्द्र शाहीलाई गुमाएको कर्णालीका लागि विपिन र सुनिलले राम्रो प्रदर्शन गरे पनि अन्य खेलाडी चल्न नसक्दा ठुलो योगफल तयार पार्न सकेन।

सात ओभर बलिङ गर्दै १६ रन खर्चिएर ६ विकेट हात पारेका सुदूरपश्चिमका धामी प्लेयर अफ दि म्याच घोषित भए। जितसँगै सुदूरपश्चिमले दुई अंक बटुलेको छ दोस्रो खेल खेलेको कर्णालीले एक अंकमा रोकिएको छ। 

जनकपुरमा लुम्बिनी र कोशी प्रदेशबीच खेल जारी छ। कोशीले २ सय ५० रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरिरहेको छ।

यसअघि शनिवार लुम्बिनीविरुद्धको खेल वर्षाका कारण रोकिएपछि कर्णालीले १/१ अंक बाँडेको थियो।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात ७ प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ।

प्रतियोगितामा लिग चरणपछि उपाधिका निम्ति दुई शीर्ष टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077