काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत २० औं खेलमा आज मधेश प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। अपराजित मधेशको यो लगातार तेस्रो जित हो।
जितको लागि १ सय ३० रनको सहज चुनौती मधेशले २४.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
ओपनर मयान यादव र निरज यादवले पहिलो विकेटको लागि ५० रनको साझेदारी गरे। मयान २४ रन जोडेर आउट भए।
लगतै कप्तान अनिल शाह १ रनमा आउट पभेलियन फर्किए। पवन सर्राफ तेस्रो विकेटको रूपमा १७ रन जोडेर आउट हुँदा मधेशले ७८ रन बनाएको थियो।
ओपनर निरज ५९ बल खेल्दै ३८ रनमा आउट भए। यतिखेर मधेशले १ सय १० रन जोड्दा जितको नजिक पुगेको थियो। लगत्तै मोहम्मद आदिल अकान रनको खाता नखोलीआउट भए भने अरनिको यादव अविजित ३२ रन जोड्दै मधेशलाई ५ विकेटको जित दिलाउन सफल भए।कर्णालीका दीपेन्द्र रावतले ३ विकेट लिए।
त्यसअघि जनकपुरको राम जानकी बहुउद्देश्यीय रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले मात्र ३१।१ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रन मात्र बनायो। ब्याटिङमा कर्णालीको प्रदर्शन निराशाजनक रहयो।
टोलीका ओपनर रविन्द्र शाहीले सर्वाधिक ४० रन बनाए। उनले ५१ बल खेल्दै ६ चौका प्रहार गरे। अर्जुन घर्तीले २४ रन, विपिन रावल र दिनेश अधिकारीले समान १८ तथा कप्तान दिवान पुनले १२ रन बटुल्दा अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।
मधेशका आशिक बैठले उत्कृष्ट प्रदर्शन गरे। उनले १० ओभरमा १ मेडन सहित ३४ रन दिएर ४ विकेट लिए। विशाल पटेल र अरनिको यादवले २र२ विकेट झारे।
यता आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले पराजित गरेको छ। सोमबार वीरगञ्ज स्थित नारायणी रंगशालामा भएको खेलमो सुदूरपश्चिमले लुम्बिनीलाई १६९ रनको लक्ष्य दिएकोमा ४०.२ ओभरमा सबै विकेट गुमाउँदै लुम्बिनीले १५६ रन मात्र बनाउन सके।
सुदूरपश्चिमको बलर चल्दा लुम्बिनीले लगातार दोस्रो हार व्यहोरेको छ। लुम्बिनीका संतोष यादवले ८४ बलमा ६७ रन र ध्रुव सुनारले ४९ बलमा ३६ रन बनाउँदा अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
बलिङमा सुदूरपश्चिमका खडक बोहराले ५.२ ओभरमा १३ रन दिएर ३ विकेट लिँदा शेर मल्लले १० ओभरमा ३२ रन दिएर ३ विकेट लिए। यस्तै, हेमन्त धामीले २, नारायण जोशी र लोकेन्द्र चन्दले समान १/१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले समेत पुरै ५० ओभर खेल्न सकेनन्। सुदूरपश्चिमका खेलाडी ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन मात्र बनाएका थिए। सुदूरपश्चिमको तर्फबाट दिपक बोहराले ३०, हेमन्त धामीले २९, किरण ठगुन्नाले २०, अभिषेक पालले १७, प्रकाश पाण्डेले १४, नारायण जोशीले ११, सूर्य श्रेष्ठले १०, खडक बोहराले १० रन बनाए।
लुम्बिनीको तर्फबाट संतोष यादव र अजय चौहानले समान ४/४ विकेट लिए भने संदेश थापाले १ विकेट लिए।
चैत ७ गतेदेखि सुरु भएको खेलमा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात ७ प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ।सबै टिमले प्रधानमन्त्री कपको ४/४ वटा खेल खेलेकोमा मधेस प्रदेश ७ अंक सहित पहिलो स्थानमा छ भने त्रिभुवन आर्मी क्लब ७ अंक सहित दोस्रो, सुदूरपश्चिम ६ अंक सहित तेस्रो, नेपाल प्रहरी क्लब ५ अंक सहित चौथो स्थानमा रहेको छ।
प्रतियोगितामा लिग चरणपछि उपाधिका निम्ति दुई शीर्ष टोलीबीच प्रतिस्पर्धा हुने क्यानले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्।