काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चलचित्र ‘तेलभिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्।
मेनपावर व्यवसायी समेत रहेका कार्कीलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी र वैदेशिक रोजगारसम्बन्धी कसुरमा स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो ।
अमेरिकासहित विभिन्न देश पठाइदिन्छु भन्दै केही व्यक्तिसँग पैसा लिएको तर अमेरिका पनि नलगेको र पैसा पनि फिर्ता नदिएको भन्दै कार्कीविरुद्ध तीन महिनाअघि नै उजुरी परेको थियो । गत भदौ ४ गते वैदेशिक रोजगार न्यायाधिकरणबाट पक्राउ पुर्जी जारी भएपछि उनी भारतमा रेस्टुरेन्ट खोलेर लुकिछिपी बस्दै आएका थिए ।
प्रहरीका अनुसार कार्कीले प्रतिव्यक्ति १ लाखदेखि २० लाख रुपैयाँसम्म असुल गरेका थिए । उनले २०० देखि २५० जनासम्मलाई वैदेशिक रोजगारीको प्रलोभनमा पारेर ठगी गरेको र हालसम्म १०० जनाभन्दा बढी पीडितहरू प्रहरीको सम्पर्कमा आइसकेको जनाइएको छ । उनीविरुद्ध यसअघि प्रहरी वृत्त लैनचौरमा बैंकिङ कसुरसम्बन्धी मुद्दा समेत दर्ता भएको थियो ।
शिवराजले फरार हुनुअघि काठमाडौंको चाबहिलमा ‘पी एन्ड एम इनोभेटिभ सर्भिसेज’ सञ्चालन गर्दै आएका थिए । सोही भिसा कन्सल्टेन्सीको आडमा उनले मानिसहरूलाई विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम पठाउने गरेका थिए । चलचित्र निर्माता संघका साधारण सदस्य समेत रहेका उनले ‘तेल भिसा’भन्दा अगाडि फिल्म ‘चि मुसी चि’ बनाएका थिए ।
‘तेल भिसा’ प्रदर्शनको संघारमा रहँदा यसका निर्देशक शंकर घिमिरे र प्रस्तुतकर्ता तथा अभिनेत्री ऋचा घिमिरेमाथि पनि ठगीको आरोप लागेको थियो । अमेरिका लैजाने प्रलोभन देखाएर रकम असुल गरेको तर अमेरिका पनि नलगेको र पैसा पनि फिर्ता नगरेको भन्दै उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा गत असार २४ गते उजुरी नै दर्ता भएको थियो ।
उनले विगत ३ महिनादेखि भारतको नँया दिल्ली स्थित पहाडगंजमा अन्नपूर्ण फास्टफुड खोली बसेको साथै भारत सरकारद्वारा जारी भएको आधार कार्ड र प्यान कार्ड समेत लिएको अनुसन्धानमा खुलेको छ।
पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।