काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) ले सर्वोच्च अदालत पुगेर अवहेलना मुद्दामा तारिख बुझेका छन् ।
सिंहदरबारमा सांसदको सपथ लिएपछि सोही पोसाकमै सर्वोच्च अदालतको प्रशासन फाँटमा पुगेर उनले मुद्दाको म्याद बुझेका हुन् ।
प्रधानमन्त्रीमा नियुक्ति र शपथको अघिल्लो दिन आज उनले पेसी बुझेका हुन् ।
झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य रहेका बालेनले भाली (चैत १३ गते शुक्रबार राम नवमीको दिन) वैदिक कर्मकाण्ड विधिअनुसार प्रधानमन्त्री पदको शपथ लिँदै छन् ।
उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न काठमाडौं महानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी गरेपछि त्यति बेला मेयर रहेका बालेनले कडा अभिव्यक्ति दिएका थिए ।
सामाजिक सञ्जालमार्फत उनले छिमेकी मित्रराष्ट्रसँग अदालत र सरकारलाई जोडेर आपत्तिजनक लाञ्छना लगाएको जिकिरसहित अधिवक्ता वर्षाकुमारी झाले अवहेलना मुद्दा दायर गरेकी थिइन् ।
बालेनले फेसबुकमा ‘सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन’ भन्दै स्टाटस लेखेका थिए । बालेनले अदालतको आदेश नमान्ने घोषणा गरेको दाबीसहित उनीमाथि कारबाहीका निम्ति अधिवक्ता झाले अवहेलना मुद्दा दिएकी हुन् ।
२०८० असार ७ गते फेसबुकमार्फत यस्तो अभिव्यक्ति दिइएको उनले जनाएकी छन् । बालेनको उक्त अभिव्यक्तिले कानुनी विवादको रूप लिएको हो ।
न्याय प्रशासन ऐन, २०७३ को दफा १७ र सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ बमोजिम अदालतको अवहेलनाजन्य कसुरमा हदैसम्मको सजाय गर्न रिट निवेदनमा माग गरिएको छ ।
उक्त मुद्दामा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासले तारिखका निम्ति वारेस राख्न बालेनको मागअनुसार अनुमति दिन अस्वीकार गरेको छ । तारिखमा स्वयम् हाजिर हुन भनेका कारण बालेन आफैँ सर्वोच्चमा उपस्थित भएका हुन् ।
सर्वोच्च प्रशासनले अवहेलना मुद्दामा बालेनलाई आउँदो जेठ १४ गतेका निम्ति तारिख तोकेको छ । त्यस दिन अवहेलना मुद्दामा दुवै पक्षको सुनुवाइ हुनेछ ।