काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका शीर्ष नेताहरू आन्तरिक छलफलमा छन् ।
बैठकको संयोजन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका हुन् ।
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउपछि ठमेलस्थित एक होटलमा करिब २० नेताहरू बैठकमा जुटेका छन् ।
बैठकमा खड्कासँगै डा।शेखर कोइराला, विमलेन्द्र निधि, डा.शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल र निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेल सहभागी छन् ।
कार्की नेतृत्वको आयोगको सिफारिसमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई शनिबार एकाबिहानै भक्तपुरस्थित आ-आफ्नो निवासबाट पक्राउ गरेको थियो। ओलीको स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा छन् भने लेखकलाई नेपाल प्रहरीका २ नम्बर गणमा राखिएको छ।
सरकारले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले कार्यकर्ता प्रदर्शन गरिरहेका छन्। साथै राजनीतिक प्रतिशोध साँधेको भन्दै एमालेले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ।
उता र्निवाचन आयोगबाट मान्यता प्राप्त गरेको सभापति गगन थापा समूह भने यसबारे मौन छ ।उक्त समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूको प्रशिक्षण दिइरहेको छ ।