काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिएको छ।
पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार महाधिवेशनको तयारीअन्तर्गत निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।
यस कार्यक्रममार्फत प्रतिनिधिहरूलाई महाधिवेशनसम्बन्धी आवश्यक जानकारी, भुमिका र जिम्मेवारीबारे प्रशिक्षण दिइने बताइएको छ ।
अभिमुखीकरण कार्यक्रममा महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र डिला संग्रौलालगायत सहभागी छन्।
काँग्रेसको महाधिवेशन असोज १६र१९ मा काठमाडौंमा हुँदै छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार यही चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। यस अवधिमा केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइनेछ।
आगामी वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म छ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गरिनेछ।
वैशाख महिनाभरि वडामा एकमहिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। सार्वजनिक कार्यतालिकाअनुसार जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी आगामी जेठ मसान्तसम्म केन्द्रमा पठाउनु पर्नेछ। केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी आगामी असार १५ गतेसम्म टुङ्गो लगाउने समयसीमा तोकिएको छ।
यस्तै, अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि २०८३ असार मसान्तसम्मलाई तोकिएको छ।
कार्यतालिकाअनुसार, आगामी भदौ २ गते सबै वडा समितिको सम्पन्न गर्ने र क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ भने भदौ ७ गते गाउँ नगरपालिका अधिवेशन गरिनेछ। भदौ १७ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्ने र महाधिवेशन गरिनेछ। यस्तै, आगामी असोज २ र ३ गते जिल्ला अधिवेशन गरिनेछ।