काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै संगठनलाई तल्लो तहसम्म चलायमान बनाउन ‘जरा अभियान’ सुरु गरेको छ।
केन्द्रीय प्रतिनिधिहरूको अभिमुखीकरण सम्पन्न गरेसँगै महामन्त्री प्रदीप पौडेल ले शनिबारदेखि अभियान औपचारिक रूपमा सुरु भएको जानकारी दिएका हुन्।
उनका अनुसार आगामी महाधिवेशनमा सहभागी हुन प्रत्येक क्रियाशील सदस्यले ‘कांग्रेस आईडी’ लिनु अनिवार्य गरिएको छ।
वैशाख महिनाभर सञ्चालन हुने सदस्यता अद्यावधिक अभियानअन्तर्गत पुराना सदस्यहरूले आफू रहेको वडा वा भौगोलिक क्षेत्रबाटै सदस्यता नवीकरण गर्नुपर्नेछ।
महामन्त्री पौडेलले ‘कांग्रेस आईडी’ बिना पुरानो सदस्यता मान्य नहुने स्पष्ट पार्दै त्यस्ता सदस्य महाधिवेशनमा सहभागी हुन नसक्ने बताएका छन्। 'यो रोजाइको विषय होइन, सबैका लागि अनिवार्य प्रक्रिया हो,' उनले भने।
नयाँ सदस्यहरूलाई भने पार्टी विधानअनुसार डिजिटल माध्यमबाटै सदस्यता र आईडी उपलब्ध गराइने व्यवस्था मिलाइएको कांग्रेसले जनाएको छ।